कोरोनाका नाममा उठेको रकम तत्कालै राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल राष्ट्र बैंकले तीनै तहका सरकारको बैंक खाता अद्यावधिक गर्न ताकेता गरेको छ । मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले १० दिनभित्र बैंक खाता अध्यावधिक गर्न सरकारलाई ताकेता गरेको हो।

केन्द्रीय बैंकले बैंक खाता अद्यावधिक गर्न गत पुस २७ गते नै परिपत्र गरिसकेको थियो । तर, अझैसम्म पनि अद्यावधिक नभएपछि यसका लागि राष्ट्र बैंकले संघ, प्रदेश र स्थानीय सरकारलाई पुनः आग्रह गर्दै ताकेता गरेको हो ।

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई गत असोज १७ गतेबाट सरकारी खाता निर्देशिका २०७६ कार्यान्वयनमा ल्याएको थियो । उक्त निर्देशिका बमोजिम संघ, प्रदेश र स्थानीय तहका विभिन्न समूहका खाता अद्यावधिक भनेको थियो ।

सोही बमोजिम खाताहरू अद्यावधिक भए नभएको अनुगमन गरेर जानकारी गराउन महालेखा नियन्त्रकको कार्यालयले चैत २७ गते राष्ट्र बैंकलाई अनुरोध गरेको थियो ।

त्यसैका आधारमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई १० दिनभित्र सबै तहका सरकारका विभिन्न खाताहरू अद्यावधिक गरेर राष्ट्र बैंकको सरकारी लेखा विभाग र महालेखा नियन्त्रकको कार्यालयलाई जानकारी गराउन भनेको हो ।

यसैबीच केन्द्रीय बैंकले कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोष खाता खोल्ने वाणिज्य बैंकहरुले अब सो रकम सिधंै नेपाल राष्ट्र बैंकको खातामा पठाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई निर्देशन जारी गर्दै उनीहरुले आफूखुशी कोरोना उपचार कोष खाता खोलेर जम्मा गरेको रकम आरटीजीएसमार्फत राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले उद्धार तथा राहत कोष खाताअन्तर्गत कोरोनाको सहयोगका लागि खाता खोलेको बैंकहरुलाई जानकारी गराएको छ । कुनै बैंकले कोरोना उपचार कोषका नाममा खाता खोलेर सहयोग लिएको भएमा आरटीजीएसबाट तत्काल केन्द्रीय बैंकले खोलेको खातामा पठाउन भनेको छ ।

यस्तै, आगामी दिनमा त्यसरी जम्मा हुने रकम भोलिपल्ट १२ बजेभित्र केन्द्रीय बैंकको खातामा जम्मा गरिसक्नुपर्ने भन्दै केन्द्रीय बैंकले परिपत्र जारी गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्