कालोबजारी गर्ने सेल्सबेरीलाई दुई लाख जरिवाना



नेपाल समाचारपत्र, काठमाडौं।

किएभन्दा बढी मूल्यमा सामान बेच्ने सेल्सबेरी डिपार्टमेन्ट स्टोर्स कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा आइतबार सो डिपार्टमेन्टलाई कारबाही गरेको हो।

विभागका सहायक प्रवक्ता दीपकराज पोखरेलले बजार अनुगमनका क्रममा जावलाखेलमा रहेको सो स्टोरले चामलको बोरामा बढी मूल्य लिएको भेटिएकाले कारबाही गरिएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँका अनुसार डिपार्टमेन्ट स्टोरलाई कारबाहीस्वरुप २ लाख रुपियाँ जरिवाना तिराइएको छ।सहायक प्रवक्ता पोखरेलका अनुसार सेल्सबेरी डिपार्टमेन्ट स्टोरले नक्कली भ्याट बिल बनाएर चामलको बोरामा अधिकतम् खुद्रा मुल्य (एमआरपी) भन्दा बढी मूल्य राखेर बेचेको भेटिएको थियो।

उहाँले भन्नुभयो– ‘उक्त डिपार्टमेन्ट स्टोरले बढी मूल्यमा सामान बेचेको विभागमा गुनासो आएको थियो। हामीले अनुगमन गर्दा पनि बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गरेका हौं।’

आइतबार वाणिज्य विभागको दुई वटा टोली बजार अनुगमनमा निस्केको थियो। अनुगमन अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा जावलाखेल र इमाडोल क्षेत्रमा अनुगमन भएको थियो भने अर्का अनुगमन अधिकृत मोहन कार्कीको नेतृत्वमा कुलेश्वर क्षेत्रमा अनुगमन भएको थियो। आइतबारको अनुगमन ग्यास पसलमा केन्द्रित भए पनि सेल्सबेरी डिपार्टमेन्ट स्टोरले बढी मूल्यमा सामान बेचेको गुनासो आएपछि त्यहाँ पनि अनुगमन गरिएको पोखरेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्