संघीयताको आभास सञ्चार क्षेत्रमा भएन: अध्यक्ष आचार्य



यमलाल भुसाल, बुटवल
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले संघीयताको सञ्चार क्षेत्रमा अनुभूति हुन नसकेकोे टिप्पणी गर्नुभएको छ। उहाँले संविधानमा व्यवस्था गरिएका कुरालाई पनि प्रदेशस्तरमा कार्यान्वयन हुन नसकेकाले सञ्चार क्षेत्रमा संघीयताको आभास हुन नसकेको बताउनुभएको हो।
पत्रकारले पाउने प्रेस पास, लोककल्याणकारी विज्ञापन, पत्रपत्रिकाको वर्गीकरण, दर्ता नवीकरणसहित धेरै कुरा केन्द्रिकृत अवस्थामै रहेकाले सञ्चार क्षेत्रले संघीयताको अनुभूति गर्न नपाएको अध्यक्ष आचार्यले औंल्याउनुभयो।
नेपाल पत्रकार महासंघ ५ नं. प्रदेश समितिले बुधबार बुटवलमा आयोजना गरेको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारका समाचार नलेख्ने वातावरण बनाउनका लागि सरकारका तर्फबाट पत्रकारलाई जरिवाना लगाउने कानुन आएको समेत दाबी गर्नुभयो।
आलोचनात्मक विश्लेषणलाई नेताहरूले पचाउन नसकेकै कारण प्रेस स्वतन्त्रताको नीतिगत र कानुनी रूपमै बन्देज लगाउन खोजेको पनि उहाँले बताउनुभयो।
उहाँले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको समानुपातिक विज्ञापन विधेयक कमिसन नपाइने भएकाले सरकारी निकायका कर्मचारीले कार्यान्वयनमा चलखेल गर्न सक्नेसमेत आशंका व्यक्त गर्नुभयो।
अध्यक्ष आचार्यले पत्रकारिताको आवरणमा आपराधिक गतिविधि गर्नेहरूलाई छानबिन गरी कारबाही गर्नुपर्ने बताउँदै त्यस्ता व्यक्तिलाई जिल्ला तहबाटै केन्द्रमा पठाउन आग्रह गर्नुभयो।
पत्रकारले पुष्टि नभएका विषयलाई सामाजिक सञ्जालमा लेख्न नपाइने बताउँदै उहाँले श्रमजीवी पत्रकारहरूको पारिश्रमिक समयमा उपलब्ध नगराउने सञ्चारमाध्यमलाई बन्द गराएर भए पनि त्यसको असुलउपर गराउने चेतावनी दिनुभयो।
त्यस अवसरमा पूर्वसांसद तथा नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वअध्यक्ष विनोद पहाडीले सरकार मिडियाप्रति अनुदार बन्दै गएको टिप्पणी गर्दै एउटा सुर्ती उद्योग खोल्दा लिने दर्ता शुल्क र मिडिया उद्योग दर्ता गर्दा लिने दर्ता शुल्क त्यसको ज्वलन्त उदाहरण भएको औंल्याउनुभयो। एउटा सुर्ती उद्योग दर्ता गर्दा कुल पुँजीको १ प्रतिशत र एउटा टेलिभिजन दर्ता गर्दा १० लाख रुपियाँ लिने व्यवस्थाले सरकार मिडियामैत्री नभएको दाबी गर्नुभयो।
त्यस्तै, महासंघका पूर्वअध्यक्ष हरि लम्सालले सरकारको स्पष्ट नीतिको अभावका कारण पत्रकारिता सेल्फसेन्सरसिपमा चलिरहेको उल्लेख गर्नुभयो। महासंघका पूर्वअध्यक्ष बालकृष्ण चापागार्इंले पत्रकारिताको आवरणमा गरिने गैरपत्रकारिताका कारण पत्रकारलाई हेर्ने सामाजिक मनोविज्ञान नै बदलिएको बताउनुभयो।
नेपाल पत्रकार महासंघ प्रदेश–५ का उपाध्यक्ष भरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य वसन्त गिरी, महासंघ रूपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, पूर्वअध्यक्षहरू डीआर घिमिरे, मोहन चापागाईं, दीपक ज्ञवाली, शेरबहादुर केसी, कपिलवस्तु महासंघका अध्यक्ष डिलाराम भुसाल, नवलपरासीका अध्यक्ष हरि शर्मा, प्रेस युनियन रूपन्देहीकी अध्यक्ष रेखा भुसाललगायतले पत्रकारहरूले सामाजिक सञ्जालमा महासंघको आचारसंहिताविपरीत हुनेगरी टीका टिप्पणी गर्ने गरेकाले पत्रकारिताको मर्यादामा  समस्या हुने गरेको धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्