कोरोनाको असर रक्तदातामा



नेपाल समाचारपत्र, वीरगन्ज
कोरोना भाइरस (कोभिड–१९) का कारण सामूहिक रक्तदानमा आएको कमीले पर्साको रक्त सञ्चार केन्द्रमा रगतको अभाव हुन थालेको छ।
कोरोनाको हल्लासँगै भीडभाड र समूहगत काममा आएको कमीले सामूहिक रक्तदानमा परेको असरसँगै रगतको पनि अभाव हुन थालेको हो। वीरगन्जका विभिन्न अस्पतालमा आउने बिरामीका लागि दैनिक ४० देखि ६० पोकासम्म रगत चाहिन्छ।
तर, हाल सामूहिक रक्तदानमा मन्दी आएकाले बिरामीका लागि चाहिने रगतको माग धान्न अप्ठ्यारो हुन थालेको रक्त सञ्चार केन्द्र वीरगन्जका संयोजक मधु राणाले बताउनुभयो।
सहकारी र बैंकले पछिल्लो समयमा गर्ने कोठे रक्तदानले ठूलो अभावलाई धानेको छ। सामूहिक रूपमा हुने ठूला रक्तदान कम हुँदा सकस परेको उहाँले बताउनुभयो। वीरगन्जमा मात्र साना क्लिनिक छाडेर २० वटा जति ठूला अस्पताल छन्।
‘सबै हस्पिटलमा आउने बिरामीमध्ये रगत चाहिने खालका बिरामीलाई महिनामा १ हजार ५ पोका जति रगत चाहिन्छ। तर, त्यसको तुलनामा रक्तदान हुन छाड्यो।
यस्तै, अवस्था हुने हो भने कोरोनाको प्रकोपसँगै पर्साको हकमा भने बिरामीका लागि चाहिने रगतको पनि अभाव खड्किने कुरा नकार्न सकिन्न।’ –रेडक्रस वीरगन्जका सभापति वीरेन्द्रराज कँडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्