सुरक्षा उपकरण नहुँदा स्वास्थ्यकर्मी नै असुरक्षित



वासुदेव शर्मा, जाजरकोट
विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहन नागरिकलाई सूचना गरे पनि जाजरकोट अस्पतालमा बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीले प्रयोग गर्ने आवश्यक उपकरण नभएको गुनासो गरेका छन्।
कोरोना संक्रमित बिरामीको स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाउन, ग्लोभ, क्याप, मास्क, चस्मा, बुट ह्यान्ड स्यानिटाइजरलगायतका व्यक्तिगत सुरक्षाका सामग्री अस्पतालमा नहुँदा समस्या भएको मेडिकल अधिकृत डाक्टर अमिन शाहले बताउनुभयो। सामान्य ज्वरो नाप्ने थर्मोमिटरलगायतका सामग्री नहुँदा कोरोनाबाट संक्रमित चेकजाँचका लागि अस्पताल आउँदा समस्या पर्ने उहाँको कथन छ।
कोरोना भाइरस चेकजाँचका लागि पूर्वतयारी केही नभएकाले स्वास्थ्यकर्मीलगायत नर्सिङ स्टाप कार्यालय सहयोगीहरू उच्च जोखिममा पर्ने भएका छन्। स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री मास्क, थर्मोमिटरलगायतका अत्यावश्यक सामान तत्काल आपूर्ति गर्न स्वास्थ्य सेवा कार्यालय र अस्पताल विकास समितिलाई उपलब्ध गराउन आग्रह गरे पनि सुनुवाइ नभएको डाक्टर शाहले गुनासो गर्नुभयो।
जाजरकोटबाट धेरै मानिस मजदुरीका लागि भारत जाने गर्छन्। ज्याला मजदुरी गरी नेपाल फर्कंदा कोरोनाको संक्रमण बोकेर आउने जोखिम निकै भएकाले सजगता अपनाउनुपर्ने भए पनि सरोकारलाहरूले चासो नदेखाएको अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर औसरसिंह राठौर बताउनुहुन्छ। ‘पूर्वतयारीविना नै कोरोना भाइरसका बिरामी देखापरे भने आफैँ जोखिममा रहेर कसरी काम गर्ने।’ –उहाँले भन्नुभयो
त्यसैगरी, भेरी नगरपालिका–७ पुन्मास्थित सरस्वती माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेका २५ जना विद्यार्थी गत सोमबार बिरामी भएका थिए। रुघाखोकी, घाँटी दुख्ने, ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि तत्काल नगरपालिकाको स्वास्थ्य शाखाबाट औषधिसहित गएको टोलीले उपचार गरेपछि हाल विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार भएको छ। कोरोनाको संक्रमण हो कि भनेर आत्तिएका स्थानीय त्रसित बनेका थिए। उक्त विद्यालयमा १ सय ३९ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्