सार्वजनिक यातायातमा यात्रा गर्ने घटे



सिर्जना पन्त, बाग्लुङ

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको संख्यामा कमी आएको छ। कोरोना सन्त्रासपछि धवलागिरिमा मानिसहरूको भीडभाड र चहलपहल बढी देखिने बसपार्क, जिप पार्क र टिकट काउन्टरमा चहलपहलमा उल्लेख्य कमी आएको छ।

साविकको धवलागिरि जिप व्यवसायी समिति हालको धवलागिरि कालिका यातायात प्रालिका टिकट काउन्टरमा कार्यरत कर्मचारी नगेन्द्र बोहोराले पहिलेको तुलनामा कोरोना भाइरसको चर्चा चल्न थालेपछि ४० प्रतिशत यात्रु कम भएको बताउनुभयो। ‘नेपालमा कोरोनाको संक्रमण नभेटिए पनि मानिसहरू निकै सचेत भएका छन्’, बोहोराले भन्नुभयो– ‘अत्यावश्यक काम नपरेसम्म लामो दूरीको यात्रा गर्नेहरूको संख्यामा कमी आएको छ।’

टिकट काट्दा, पैसा लिँदा–दिँदा, कुरा गर्दा पनि कर्मचारी, चालक, यात्रु सबै सचेत हुन थालेका उहाँले बताउनुभयो। आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ भन्दै यातायात प्रालिले काउन्टरमा भीडभाड नगर्न, काउन्टरभित्र धेरै मानिस जम्मा भएर नबस्न आग्रहसमेत गरेको छ। कोरोना भाइरसको संक्रमणको डरले हरेक स्टेसनमा साबुनपानीले हात धुने गरेको जिप चालक गलकोट नगरपालिका–२ का सोम श्रीसले बताउनुभयो।

‘बाग्लुङदेखि गलकोटको हटियासम्म जिप चलाउँछु’, श्रीसले भन्नुभयो– ‘मान्छेको भीडभाडमा नजाऔँ, कुरा नगरौँ भनेर पनि सम्भव छैन, त्यसैले ठाउँ–ठाउँमा गाडी रोकेर हात धुन्छु, सरसफाइ गरेर सचेत बन्ने प्रयास गर्छु।’ १७ वर्षदेखि निरन्तर गाडी चलाउँदै आउनुभएका श्रीसले हालसम्म रोगबाट यति धेरै डराएर चलाउनुपरेको पहिलो अनुभव भएको बताउनुभयो।

सार्वजनिक यातायातका कर्मचारी मात्र होइन, यातायातमा यात्रा गर्ने सर्वसाधारण पनि स्वयं सचेत भएर हिँड्ने गरेका छन्। पछिल्लो समय यात्रु पनि मास्क लगाएरै गाडी चढ्ने गरेको अर्का सवारी चालक दुर्गाबहादुर विक बताउनुहुन्छ। बाग्लुङ बजारदेखि पोखरासम्म जिप चलाउँदै आउनुभएका विकले मास्क नलगाएका यात्रु निकै कम देखिनुहुन्छ’, उहाँले भन्नुभयो– ‘ड्राइभरले त हाल मात्र होइन, पहिले पनि मास्क लगाउँथे, आजभोलि सबै यात्रुले लगाउन थाल्नुभएको छ। तैपनि बिरामी बोक्दा कतै आफैँ बिरामी परिन्छ कि भन्ने डर लाग्छ।’

बाग्लुङ बजारदेखि काठेखोला गाउँपालिकाको बिहुँ जान सवारी कुरिरहेका अर्जुन परियार पनि माक्स लगाएकै अवस्थामा भेटिनुभयो। कोरोनाको संक्रमणबाट जोगिनका लागि आफूले बजार आउँदा मात्र नभएर गाउँमा भीडभाडमा जाँदा पनि माक्स लगाएर बस्ने गरेको उहाँले बताउनुभयो।

धवलागिरि अञ्चल अस्पताल बाग्लुङमा लामो समय कार्यरत रहनुभएका रामप्रसाद खनालले सार्वजनिक यात्रामा मास्कको अनिवार्य प्रयोगसहित सचेतता अपनाएर यात्रा गर्न सुझाव दिनुहुन्छ। ‘यात्रै नगर्ने भन्ने चाहिँ होइन, काम विशेषले यात्रा गरौँ तर भीडभाडमा, यात्रामा अपनाउनुपर्ने सचेतना सबैले अपनाउनुहोस्’, बाग्लुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुखसमेत रहनुभएका खनालले भन्नुभयो– ‘गाडीमा यात्रा गर्दा झ्यालहरू खुला गरेर सुरक्षित यात्रा गरौँ, रुघाखोकी ज्वरो आएको छ भने सकेसम्म यात्रा नगरौँ।’
दददददद

प्रतिक्रिया दिनुहोस्