तयारी हालतमा रहन प्रजिअको निर्देशन 



ललितपुर, (नेस)

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ बाट सुरक्षित रहन तथा प्रभावकारी उपचार तथा रोकथामका गर्न बैठक बसेको छ। प्रजिअको संयोजकत्वमा बसेको  बैठकले कोभिड १९ का कारण हुन सक्ने सम्भावित महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारी तथा निजी अस्पतालहरूले समन्वय गरी अघि बढ्नुपर्ने धारणा राखेका थिए।

बैठकमा  नवराज सिलवालले सबै सरोकारवालाको संयोजनकारी भूमिका रहनुपर्ने बताउनुभयो।

अस्पतालका सञ्चालक तथा चिकित्सकहरूले सम्भावित बिरामीलाई छुट्टै अस्थायी स्थानमा आइसोलेसन वार्ड तयारी अवस्थामा राख्नुपर्ने धारणा राखेका थिए। निजी अस्पतालको छाता संगठन अफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष कुमार थापाले सरकारको विशेष पहलबाट सुरक्षित एवं खुला ठाउँको पहिचान गरी छिटो संरचना बनाउन सरकारलाई सुझाव दिनुभएको थियो।

उहाँले तीन चरणमा बिरामीलाई तत्काल व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले तत्काल उद्धार टोली खडा गरी तोकिएको अस्पतालमा लैजाने व्यवस्था गर्न आग्रह गर्दै सो व्यवस्था नभए भयाभह अवस्था आउन सक्ने सुझाव दिनुभएको थियो। उहाँको सुझावअनुसार जिल्लाले सोहीअनुसार आइसोलेसन वार्ड स्थापना गरी संक्रमितलाई राख्ने स्थान तय गर्ने तयारी गरेको छ।

अस्पतालका प्रतिनिधिहरूलाई आ–आफ्नो अस्पतालमा हेल्थ डेक्स स्थापना गरी शंकास्पद बिरामीलाई पहिचान गरी थप उपचारका लागि आवश्यक समन्वय गर्न तथा स्थानीय तहले कोरोना भाइरससम्बन्धी जनचेतनामूलक कार्यक्रममार्फत सचेत रहने उपाय अपनाउन आग्रह गरेको थियो।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आतिथ्य तथा भागीरथ पाण्डेयको संयोजकत्वमा भएको बैठकमा उहाँले सबै निकायलाई तयारी हालतमा रहन निर्देशन दिनुभएको थियो।

बैठकमा ललितलपुरबाट प्रतिनिधित्व गर्ने सांसद, प्रदेश सांसद, पालिकाका प्रमुख, जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा ललितपुरस्थित सरकारी तथा निजी अस्पतालका प्रमुख, निजि अस्पतालका संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्