अवैध लागूऔषधसहित पक्राउ 



काठमाडौं, (नेस)

कलंकीस्थित राजधानी गेस्ट हाउस एन्ड रेस्टुरेन्टबाट अवैध लागूऔषध चरेस ६ केजी १ सय ५० ग्रामसहित भारत बिहारका अनवर अली अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले अन्सारी बसेको उक्त गेस्ट हाउसको कोठा नम्बर १ सय १५ मा जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

त्यसैगरी, पर्सा पटेर्वा सुगौली गाउँपालिका–२ बैधनाथपुरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम, चरेस १ किलो र हाल पहिचान हुन नसकेको धुलो १ किलो ५ सय ग्रामसहित सोही गाउँपालिका–४ देउरवाना बस्ने नुर आलम मियाँलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई साइकलमा दाउरा ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने सिलसिलामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो। साथै, फरार अर्का व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ।

त्यसैगरी, बाँके नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध चरेस १ किलो २ सय ५० ग्रामसहित कालिकोट खाडाचक्र नगरपालिका–३ बस्ने सुबिरा शाहीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्