प्रदेशको प्रवेशद्वारमा हेल्थ डेक्स



नेपाल समाचारपत्र, स्याङ्जा
कोरोना भाइरसको सचेतनासँगै सतर्कता अपनाउने क्रममा गण्डकी प्रदेश छिर्ने मुख्य नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ।

गण्डकी प्रदेश र प्रदेश–५ को सिमाना राम्दीमा हेल्थ डेक्स स्थापना गरिएको हो। स्याङ्जाको गल्याङ नगरपालिकाले दुई प्रदेशको सिमाना रहेको राम्दीमा हेल्थ डेक्स राखेर गण्डकी प्रदेश छिर्ने सबै यात्रुलाई चेकजाँचपछि मात्रै आउने र जाने व्यवस्था गराएको छ। भारतसहित पाँच नम्बर प्रदेशबाट भित्रिने यात्रुको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क स्थापना गरिएको गल्याङ नगरप्रमुख भूपराज अधिकारीले बताउनुभयो।

अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएको भए तापनि सचेतना भने अपनाउने अवस्था आएकाले यो हेल्थ डेक्स स्थापना गरिएको अधिकारीको भनाइ छ।

पर्यटकीय शहर पोखरा र मुक्तिनाथको दर्शन गर्न भारतीय नागरिकसहित प्रदेश–५ बाट आउने यात्रु प्रवेश गर्ने मुख्यद्वार राम्दी हो। कोरोना संक्रमणको अन्त्य नभएसम्म हेल्थ डेस्क यथावत रहनेछ। सिद्धार्थ राजमार्गको बाटो हँुदै स्याङ्जा प्रवेश गर्ने सबै यात्रुको चेकजाँचपछि मात्रै जिल्ला छिर्न पाइने व्यवस्थासहित नगरपालिकाले हेल्थडेक्स राखेको छ।

यात्रुको चेकजाँचपछि शंकास्पद भएमा पोखरामा रहेको आइसोलेसनमा पठाइने नगर स्वास्थ्य शाखा प्रमुख लीला भण्डारीले बताउनुभयो। दुई स्वास्थ्यकर्मी र एक जना सुरक्षाकर्मी हेल्थडेक्सका लागि खटाइएको नगरपालिकाले जनाएको छ।

कोरोना संक्रमणबाट सावधानी अपनाउन गल्याङ नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरवासीहरूलाई धेरै नआत्तिन र सचेत रहन आग्रह गर्दै नगरपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख अधिकारीले बताउनुभयो। गल्याङ नगरपालिकामा पनि मास्कको अभाव भएको बताइएको छ।

मास्कको कालोबजारी भएको वा नभएको विषयमा छिट्टै अनुगमन थाल्ने नगरपालिकाले जनाएको छ। स्याङ्जामा अहिलेसम्म मौसमी फ्लु देखिए पनि कोरोना संक्रमणको शंका भने नरहेको बताइएको छ। संक्रमण नदेखिए पनि सावधानी र सचेतना अपनाउन जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहमा निर्देशनसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्