खरिद ऐन संशोधन गर्न आग्रह


काठमाडौंै, (नेस)      

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङलाई भेट गरी सार्वजनिक खरिद ऐन संशोधन गर्ने क्रममा महासंघको अनिवार्य प्रतिनिधित्वको लागि आग्रह गरेको छ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण व्यवसायसँग सम्बन्धित ऐन/नियमहरु निर्माण व्यवसाय मैत्री तथा विकास निर्माण मैत्री नहुँदा विकास निर्माणको क्षेत्रमा देशले फड्को मार्न नसकेकोबारे मन्त्री नेम्बाङलाई जानकारी गराएको छ।

महासंघको सुझाव बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ परिमार्जन गर्ने कार्यमा महासंघको समेत अनिवार्य प्रतिनिधित्व गरी गराई पाउनका लागि सम्बन्धित निकायमा आवश्यक पहल गरी दिन प्रतिनिधिमण्डलले मन्त्री नेम्बाङ समक्ष आग्रह गरेको छ। जवाफमा मन्त्री नेम्बाङले समस्या समाधानका लागि सरोकारवाला निकायमा जानकारी गराइने बताउनु भएको छ।

पुँजीगत खर्चतर्फको राष्ट्रको बजेटको करिब ६५ प्रतिशत खर्च गर्ने निर्माण व्यवसाय क्षेत्रको समग्र विकासले मात्र नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार हुन र देश विकास हुन सक्छ भन्ने स्पष्ट धारणा महासंघले अघि सारेको छ।

यसैबीच विगत केही समय यता देशका विभिन्न भागमा निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी र निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरणमाथि अज्ञात समुहबाट बारम्बार भइरहेको श्रृखंलाबद्ध आक्रमण तथा आगजनीका घटनाबारे समेत महासंघले मन्त्री नेम्बाङको गम्भीर ध्यानाकर्षण गराएको छ।

Skip This