शेयर बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाइने



नेपाल समाचारपत्र,काठमाडौं । 

नेपाल उद्योग परिसंघ र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा उत्पादनमूलक तथा सेवा उद्योगको प्रतिनिधित्व गर्ने संगठन भएकाले पुँजी बजारको विकास तथा सुधारका लागि परिसंघ तत्पर रहेको बताउनुभयो। अध्यक्ष मोरले बोर्डमा नयाँ नेतृत्व आएपछि पुँजी बजारमा देखिएको सुधारको गतिलाई निजी क्षेत्रले स्वागत गरेको पनि उल्लेख गर्नुभयो।

शेयर कारोबारको समय बढाइएको तथा लगानीकर्ताको हित अनुकुलका व्यवस्था अघि बढाएकोमा पनि अध्यक्ष मोरले निजी क्षेत्र उत्साहित भएको बताउनुभयो। यस्तै परिसंघले सरकारका दुई दर्जनभन्दा बढी निकायमा आधिकारिक प्रतिनिधित्व गर्दै नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनमा सघाउँदै आएको उल्लेख गर्दै अध्यक्ष मोरले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा परिसंघको प्रतिनिधित्वको व्यवस्था गरी थप सहकार्यका लागि समेत आग्रह गर्नुभयो।

सो अवसरमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पँुजी बजारको विकास र सुधारका लागि थप पहल लिइरहेको बताउनुभयो। हालै बोर्डले कार्यान्वयनमा ल्याएको विशिष्टिकृत लगानी कोष नियमावलीले स्वदेशी तथा गैरआवासीय नेपालीलगायत वैदेशिक पुँजीसमेत परिचालनलाई सहज बनाएकाले यसमा सहभागिता बढाउन पनि अध्यक्ष ढुंगानाले आग्रह गर्नुभयो।

धितोपत्र बजारमार्फत पुँजीको सिर्जना तथा परिचालनलाई महत्त्व दिएर उत्पादनमूलक र अन्य क्षेत्रको सहभागिता बढाउँदै शेयर बजारलाई थप सन्तुलित बनाउन आवश्यक रहेकाले परिसंघको सहयोग महत्त्वपूर्ण रहने पनि अध्यक्ष ढुंगानाले उल्लेख गर्नुभयो।

 

 

प्रतिक्रिया दिनुहोस्