चट्याङले दुईको मृत्यु



नेपाल समाचारपत्र, म्याग्दी ।

 

म्याग्दीमा गए राति वर्षासँगै परेको चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । चट्याङ लागेर अन्नपूर्ण गाउँपालिका–६, खिबाङकी ४१ वर्षीया यामकुमारी गर्बुजा र २६ वर्षीय रवि पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

शनिबार राति सुतिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते दुवै जनालाई बेनी अस्पतालमा ल्याई उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँबरले बताउनुभयो ।

 

चट्याङले खिबाङकै ४५ वर्षीया चन्द्रदेवी तिलिजा र ३४ वर्षीया मनकुमारी पुर्जालाई चोट लागेको छ भने निर्मला पुर्जाको भैंसीको पाडो मरेको उहाँले जानकारी दिनुभयो ।

 

मृतकको शवलाई बेनी अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रनाउ कुँवरले बताउनुभयो । यसै गरी शनिबार राति नै चट्याङ पर्दा रघुगंगा गाउँपालिका–३, की खिमकुमारी मल्ललाई सामान्य चोट लागेको छ भने एउटा घरसमेत चर्किएको छ ।

 

यसै बीच शनिबार रातभरि परेको वर्षासँगै आएको हिमपातले म्याग्दीको माथिल्लो क्षेत्रमा लगाइएको हिउँदे बालीमा क्षति पु¥याएको छ । गर्मी बढ्दै गरेको अवस्थामा परेको भारी हिमपातले हिउँदे बाली जौ, उवालगायतका बाली नष्ट गरेको हो ।

 

हिमपातले सबैभन्दा धेरै धवलागिरि गाउँपालिकामा मात्रै ८५ प्रतिशत खाद्यान्न बाली नष्ट गरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । पाक्न सुरु गरेको बालीनालीमा हिमपातले क्षति पु¥याएपछि कृषक चिन्तित बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्