समय थपेकै दिन शेयर बजारमा उच्च गिरावट



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार अवधि एक घण्टा थप गरेको दिन नै शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। साताको पहिलो दिन आइतबार नेप्सेमा ६४ दशमलव १४ अंकको गिरावट आई १३१३ दशमलव शून्य ४ अंकमा रोकिएको छ।

नेप्सेले आइतबारदेखि चार घण्टाको कारोबार अवधिलाई बढाएर ५ घण्टा पुर्याएको छ। साविकका दिनमा झैं तीन बजेसम्मको अवधिमा ५७ अंकको गिरावट भएको थियो। यसै अवधिमा एक अर्ब ६४ करोड रुपियाँको कारोबार भएको थियो। थपिएको पछिल्लो एक घण्टाको अवधिमा शेयर बजार थप ७ अंकसहित ६४ दशमलव १४ अंकको गिरावट आएको हो।

पछिल्लो एक घन्टा अवधिमा थप ४४ करोड रुपियाँको कारोबार भएको छ। आइतबार कुल २ अर्ब १० करोड रुपियाँको कारोबार भएको हो।

कारोबार शुरू भएदेखि नै ओरालो झरेको शेयर बजार अन्तिमसम्ममा सम्पूर्ण सूचक ओरालो झरेका छन्। सबैभन्दा धेरै बीमा कम्पनीहरूको शेयर मूल्यमा गिरावट आएको छ। बजार सुधार हुँदा सबैभन्दा धेरै बीमा कम्पनीहरूकै शेयर मूल्य बढेको थियो। जसले गर्दा कारोबार रकम अधिकतम् हुने रेकर्ड बनाइरहेको थियो।

आइतबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड ३६ लाख रुपियाँको कारोबार भएको छ। त्यस्तै एनआईसी एसिया बैंकको ११ करोड ४६ लाख रुपियाँको कारोबार भएको छ। यसदिन सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले शून्य दशमलव ९७ प्रतिशतले कमाएका छन्। सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्