शेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं, (नेस)

साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। यसदिन परिसूचक झण्डै ४६ अंकले घटेको छ।

 

मंगलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो। बिहीबार नेप्से ४५ दशमलव ९१ अंकले घटेर १३७७ दशमलव १८ अंकमा पुगेको छ।

 

यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव १९ अंकले घटेर २९५ दशमलव ५० विन्दुमा पुगेको छ। कूल १ सय ८२ कम्पनीको ५६ लाख ८६ हजार ६ सय ८१ कित्ता शेयर दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १ सय ८२ रुपियाँमा कारोबार भएको छ।

 

यसदिन कारोबार भएका १२ उपसमूहकै शेयर ओरालो लागेको छ। बैंकिङ ४० दशमलव ४२, व्यापार १२ दशमलव शून्य ९, होटल ९२ दशमलव ६७, विकास बैंक ४६ दशमलव ६, जलविद्युत् ३२ दशमलव ९१ अंकले घटेको छ।

 

कारोबारका आधारमा बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उच्च स्थानमा रहेको छ। सो कम्पनीको १९ करोड ८२ लाख १५ हजार ६ सय ६८ रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

 

यस्तै एनआइसी एशिया बैंकको ११ करोड ६३ लाख ८५ हजार ६ सय ८३ रुपियाँ र एनएमबी बैंकको नौ करोड ४१ लाख ६५ हजार २ सय ६१ रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

 

बिहीबार श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले २ दशमलव ४८ प्रतिशतले कमाएका हुन्। त्यस्तै स्वाभिमान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले गुमाएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्