व्यक्ति विशेषका कारण शेयर बजार प्रभावित हुन हुँदैन– अर्थमन्त्री



नेपाल समाचारपत्र, काडमाडौं

 

अर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्ति विशेषका कारण शेयर बजार प्रभावित हुन नहुने बताउनुभएको छ। प्रतिनिधिसभामा नेपाल धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा बिहीबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कम्पनीको वित्तीय अवस्था र सरकारको आर्थिक नीतिका आधारमा शेयर कारोबार हुनुपर्ने बताउनुभएको हो।

 

उहाँले भन्नुभयो–‘कम्पनीको वित्तीय अवस्था र भावी वित्तीय अवस्था कस्तो हुन्छ भनेर शेयर खरिद गर्ने हो, सरकारले कस्तो नीति नियम बनाउँछ र तिनको कार्यान्वयन कस्तो हुन्छ भनेर कारोबार गर्ने हो, व्यक्तिविशेष जो आए पनि गए पनि सेयर बजार प्रभावित हुनुपर्दैन।’ बिहीबार उक्त छलफलमा सांसदहरूले अर्थमन्त्रीको छायासँग पनि शेयर बजार डराइरहेको बताएका थिए।

 

अर्थमन्त्री खतिवडाले भने शेयर बजारमा देखिएको पछिल्लो उथलपुथल कोरोना भाइरसका कारण भएको जिकिर गर्नुभयो। ‘विश्वव्यापी रुपमा कोरोना भाइरस आएका कारणले सेयर बजारमा उथलपुथल देखिएको छ। यो अल्पकालीन आधारलाई हेरेर हामीले दीर्घकालीन सोच बनाउनु हुँदैन।’

 

अर्थमन्त्री खतिवडाले शेयर कारोबार पुँजीपतिका लागि नभई सर्वसाधारणका लागि भएको समेत बताउनुभयो। अर्थतन्त्रमा ठूलो जोखिम लिन नसक्नेहरूले सेयरमार्फत पुँजीनिर्माणमा सहभागी भइरहेको उनको भनाइ छ।

 

‘जोखिम लिन नसक्ने ठूला उद्योग खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागी हुने माध्यम सेयर नै हो’,उहाँले भन्नुभयो– ‘नेपालीहरू थोरै पुँजी भए पनि कुनै न कुनै सम्पत्तिको मालिक बनुन्।’

 

प्रतिक्रिया दिनुहोस्