७३ अंकले बढेको नेप्सेमा २२२ करोडको कारोबार



नेपाल समाचारपत्र, काठमाडौं

अघिल्लो दिन छ प्रतिशतभन्दा बढीले गिरावट आएका कारण सर्किट ब्रेक लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार भने करिब सोही प्रतिशतमा वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से ५ दशमलव ४७ प्रतिशत अर्थात परिसूचक ७३ दशमलव ७८ अंकले बढेर १४२३ दशमलव शून्य ९ बिन्दुमा पुगेको छ। निक्कै उतारचढावपूर्ण रहेको बजारमा कुल १८० कम्पनीको ५६ लाख २६ हजार ८१२ कित्ता शेयर २ अर्ब २२ करोड १० लाख ८१ हजार ६९० रुपियाँको शेयर किनबेच भएको छ। यस दिन कारोबार भएका १२ समूहमध्ये सामूहिक लगानी कोषको समूहको परिसूचक बाहेक अन्य सबै समूहको सूचकमा वृद्धि भएको छ। यस समूहको सूचक शून्य दशमलव शून्य ८ अंकले घटेको छ।

बढेका समूमध्ये सबैभन्दा बढी जीवन बीमा समूहको शेयर परिसूचक बढेको छ। यो समूको परिसूचक ५१० दशमलव ९७ अंकले बढेको छ। भने बैंकिङ समूह ६८ दशमलव ४७, व्यापार समूह ६५ दशमलव ४७, होटल समूह ९९ दशमलव ५९, विकास बैंक समूह ७४ दशमलव ४४, जलविद्युत् समूह ४८ दशमलव ३२, वित्त समूह २० दशमलव ६१, निर्जीवन बीमा समूह ४४५ दशमलव ५६, उत्पादन समूह १०९ दशमलव ७९, अन्य समूह १९ दशमलव २८ र लघुवित्त समूह ११७ दशमलव २८ अंकले बढेको छ।

त्यस्तै यस दिन सेन्सेटिभ परिसूचक पनि १४ दशमलव ३३ प्रतिशतले बढेर ३०४ दशमलव ६९ बिन्दुमा पुगेको छ। कारोबार रकमका आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ। यस कम्पनीको २३ करोड ६६ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ। यस्तै उच्च कारोबारमा एनआईसी एसिया बैंकको १४ करोड ६६ लाख, एनएमबी बैंकको १२ करोड २१ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ८६ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ।

यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसन, लक्ष्मी लघुवित्त वित्तीय संस्था, एभरेष्ट इस्स्योरेन्स कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य उच्च वृद्धि भएको छ। यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाए। समग्र परिसूचकमा उच्च वृद्धि हुँदा हिमाल दोलखा हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर कम्पनीलगायतका कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्