विद्यार्थीलाई ‘मास्क र साबुन’



नेपाल समाचारपत्र, काभ्रे
स्थानीय तह आफैं कोरोना संक्रमण रोक्न सचेतना अभियानमा जुटेका छन्। धुलिखेल नगरपालिका वडा नम्वर १० शारदा बतासेले वडा कार्यालय क्षेत्रका नागरिकहरूलाई घरेलु मास्क उत्पादन गरी मास्क र साबुन वितरण गरेको छ।
‘जनउत्तरदायी, सामाजिक सचेतना र उत्तरदायित्व बहन गर्ने उद्देश्यले वडा कार्यालयको आफ्नै बजेटमा पहिलो चरणमा विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाहरूका लागि मास्क र एउटा साबुन वितरण गरेका हौं,’ वडा अध्यक्ष पुष्पराज राउतले भन्नुभयो– ‘विद्यालय तहमा अध्ययन गर्ने ४ सय बालबालिकाले उक्त मास्क प्रयोग गर्ने र साबुनपानीले पटक–पटक हात धुने गर्दा घर–परिवार र समाजमा सचेतना फैलन सहयोग पुग्छ।’
धुलिखेल नगरपालिकाका वडा नम्वर १० लाई प्रदेशस्तरको तेस्रो बालमैत्री वडा घोषणा गरिएको थियो। वडाभित्र रहेको कालिका माविमा अध्ययन गर्ने विद्यार्थी र शिक्षकसहित २ सय ७० जना र बालज्योति आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र शिक्षकसमेत गरी १ सय ४४ जनालाई वडा कार्यालयले सुतीको कपडा खरिद गरी स्थानीयस्तरमै तयार गरिएको दुई लेयरको मास्क र साबुन उपलब्ध गराइएको छ।
प्रतिपिस मास्कको १२ रुपियाँ परेको छ भने साबुनको १७ रुपियाँ परेको छ। आवश्यक प¥यो भने वडामा रहेका सबैलाई मास्क र साबुन उपलब्ध गराउने तयारी वडा कार्यालयले गरेको अध्यक्ष राउतले बताउनुभयो।
‘बजारमा मास्क अभाव हुने र मास्कले मात्रै कोरोना भाइरस रोक्न नसक्ने हुँदा सचेतनाका लागि विद्यालय तहबाट उक्त कार्यक्रम शुरु गरेका हौं’, अध्यक्ष राउतले भन्नुभयो– ‘नियमित हात धुन लगाउने र बालमैत्री वडामा आफैं आत्मनिर्भर हुन सक्ने सन्देश दिन पनि यो अभियान शुरु गरेका छौं।’
वडा कार्यालयले नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै गर्भदेखि जेष्ठनागरिकसम्मलाई सेवा प्रदान गरेको छ।
महिला गर्भवती भएदेखि नियमित जाँच, खोप र शिविरमार्फत औषधी उपचारका लागि सहयोग पु¥याएको छ। गर्भ जाँच नियमित गराउने र बच्चालाई नियमित खोप लगाउने आमाहरूका लागि पोषणसहित बालबालिकाहरूलाई कपडा उपलब्ध गराइएको छ। प्रत्येक महिनाको १५ गते जेष्ठ नागरिक क्लिनिक शिविर सञ्चालन भइरहेको छ।
अभिभावक शिक्षा, बालमैत्री शिक्षा, चित्रकला, खेलकुद, सरसफाई अभियान, स्वास्थ्य क्लिनिक, बालमैत्री वृक्षरोपण, बालमैत्री पार्क, बाल क्लबलगायतका बालबालिकाका लागि हरेक महिनामा एउटा कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राउतले बताउनुभयो। सुत्केरी महिलालाई २ हजार ३ सयको सुत्केरी मसला उपलब्ध गराउने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्