‘प्रेस’ लेखेको मोटरसाइकलमा लागूऔषध



बारा, (नेस)
इलाका प्रहरी कार्यालय सिमराले ‘प्रेस’ लेखेको मोटरसाइकबाट ठूलो परिमाणमा लागूऔषध ओसारपसार गर्दै गरेको अवस्थामा सिमराबाट दुई जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ।
होलीको मौका पारी गल्लीको बाटोमा बसेर लागूऔषधको खरिदबिक्री गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई मोटरसाइकल र अर्को एउटा साइकलसहित पक्राउ गरेको हो।
मोटरसाइकलको अगाडिपट्टी भाइजरमा ठूलो अक्षरमा ‘प्रेस’ लेखिएको थियो।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा न. १५ बस्ने ३० वर्षका जितेन्द्रकुमार सिंह र भारत विहारका २२ वर्षीय नासिर आलम रहेका छन्।
उनीहरूको साथबाट डाइजिपाम ३ सय पिस, नुफिन ३ सय पिस र फेनारगन ३ सय पिस लागूऔषध र ना ६२ प ६२६७ नम्बरको मोटरसाइकल तथा एउटा साइकल पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्