ठगी मुद्दामा दुई फरक आदेश



रौतहट, (नेस)
ठगी मुद्दामा जिल्ला अदालत रौतहटले दुई फरक आदेश गरेको छ। लेनदेन कारोबारमा साक्षी बसेकी एक महिलालाई जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको आदेशले ५ लाख धरौटी लिई मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ भने अर्का वैदेशिक रोजगारीमा पठाइदिने भन्दै जमिन पास गराएको भन्ने ठगी मुद्दाका एक व्यक्तिसँग उनै न्यायाधीश गुरुङले भने १ लाख मात्र धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिनुभएको छ।
एउटा ठगी मुद्दाको साक्षीलाई ५ लाख धरौटी तर अर्का स्वयं ठगीमा संलग्न भएको आरोप लगाइएका व्यक्तिलाई १ लाख धरौटी माग भएपछि यसको चर्चा शुरू भएको छ।
लेनदेन कारोबारमा साक्षी बसेकी चन्द्रपुर नगरपालिका–६ निवासी चिना श्रेष्ठ कोइरालालाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को आदेशमा प्रहरीले माघ २१ गते राति ११ बजे घरबाटै पक्राउ गरेको थियो।
पक्राउ परेकी चिना श्रेष्ठ कोइरालालाई चन्द्रनिगाहपुरका ८ जनाले दिएको ठगी मुद्दाको जाहेरीमा प्रहरी अनुसन्धान भएको हो भने अर्का गरुडा नगरपालिकामा कार्यरत आईटी अफिसर भूपनारायण राय यादवसहितले पैसा र जमिन पास गराई ठगी गरेको भन्दै शेख कदिरको जाहेरीमा प्रहरी अनुसन्धान भएको हो।
तर, घटना प्रकृति, मुचुल्का र प्रतिवादीको बयान फरक रहे पनि ठगी मुद्दाको अनुसन्धानमा जिल्ला अदालत रौतहटले धरौटीको फराकिलो अन्तर हुनुलाई पनि आश्चर्य मानेको छ।
जिल्ला अदालत गौरले गएको फाल्गुन १८ गते चिना श्रेष्ठ कोइरालालाई ५ लाख धरौटी मागेको हो भने भूपनारायण यादवलाई फाल्गुन १९ गते १ लाख धरौटी माग गर्ने आदेश गरेको हो।

प्रतिक्रिया दिनुहोस्