कोटेश्वर–कलंकी सडक खण्डमा लेन प्रयोगको नयाँ नियम



नेपाल समाचारपत्र, काठमाडौँ
उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लेन प्रयोगको नयाँ नियम कोटेश्वर–कलंकी ८ लेन सडक खण्डमा यात्रुवाहक तथा मालवाहक तीव्र गतिमा गुड्ने सवारीसाधन बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारीसाधन सधैँ दाहिने मुख्य (दु्रत) लेनबाट मात्र चलाउने व्यवस्था चैत २ गतेदेखि लागू गर्ने भएको छ।
पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रूपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउन उक्त नियम लागू गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो– ‘यो सडक व्यवस्थित र सुविधायुक्त छ, यात्रुवाहक, मालवाहक र बिस्तारै गुड्ने गाडीहरू बायाँ लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारीसाधन दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्याससमेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
उक्त सडक खण्डलाई व्यवस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने हुँदा यसको प्रभावकारी कार्यान्वयन गर्नका लागि सम्बन्धित सरोकारवाला निकाय र संघ÷संस्था, यातायात सञ्चालक र व्यवसायीहरू नागरिक समाज आदिसँग छलफल गरेको छ।
यस नियम कार्यान्वयनका लागि ट्राफिक प्रहरीलाई सहयोग पुग्ने गरी अनुगमनका लागि सम्बन्धित तहबाट प्रतिनिधित्व हुने गरी समितिसमेत गठन गरिएको छ।
देशकै पहिलो १० किमि लम्बाई भएको ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्यांक रहेको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सवारीसाधनहरूले जथाभावी लेनको प्रयोग गरी सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउनेलगायतका असावधानीले दुर्घटनाको जोखिम बढेको हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाई सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किमि प्रतिघन्टा र सर्भिस लेनमा २० किमि प्रतिघन्टाको दरले गति निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्