५ किलो २ सय ग्रामको ट्युमर निकालियो

0
Shares

भगवती तिमल्सिना, काठमाडौं

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरले महोत्तरीका ४० वर्षीय अलिम कवाडीको दायाँ गालामा पलाएको ५ किलो दुई सय ग्राम तौलको ट्युमरको सफल शल्यक्रिया गरेको छ।

उहाँको आर्थिक अवस्था कमजोर भएकाले उक्त अस्पतालले शल्यक्रिया पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गरेको हो भने शुभचिन्तकहरुले थप औषधि र उपचारका लागि पाँच सयदेखि २१ हजार रूपियाँसम्म सहयोग गरेका हुन्।

समयमा शल्यक्रिया गर्न नपाउँदा उहाँको गालामा ६ वर्षअघि पलाएको सानो ट्युमर बढेर ५ किलो २ सय ग्रामको भएको थियो।

सहयोगी हातहरू समूहकी अध्यक्ष एवम् अस्पतालका निर्देशक स्वपा श्रेष्ठले अलिमको उपचारका लागि औषधिसहितको खर्च जुटाउनुभएको थियो भने पत्रकार बलराम प्यासीको अगुवाइमा जापानको तोयोहाशी बस्ने छाँयावस्ती, छालिङ भक्तपुरकी लक्ष्मी थापाले २१ हजार रूपियाँ सहयोग गर्नुभएको थियो।

झण्डै १५ जना चिकित्सक, सर्जन, प्लास्टिक सर्जरी गर्ने चिकित्सकलगायतको टोली बिहान १० बजेदेखि लगातार १० घण्टा लामो शल्यक्रियामा जुटिरहेका थिए।

उक्त अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठको सहयोग र सोही अस्पतालको नाक, कान, घाँटी क्यान्सर विभागका प्रमुख डा. प्रभातचन्द्र ठाकुरको नेतृत्वमा डा. प्रवीण जयसवालको टोलीले उक्त जटिल शल्यक्रिया गर्ने आँट गरेको थियो। टोलीले ३ घण्टामा ट्युमरको भाग काटेको थियो भने वरिष्ठ प्लास्टिक सर्जन डा. सुरेन्द्र बस्नेत र डा. कृष्ण नगरकोटीको टोलीले ट्युमर काटेको भाग तिघ्राको मासुले जोडेर प्लास्टिक सर्जरी गरेको थियो।

यसअघि एनेस्थेसियन डा. आभा प्रसाई, डा. दीपक अधिकारी र डा. सुनिता मलेकुले बिरामीलाई बेहोस पार्ने जिम्मेवारी लिनुभएको थियो।
‘झण्डै २० सेन्टिमिटर लम्बाइ, १२ सेन्टिमिटर चौडाइ र ५ किलो २०० ग्रामको ट्युमर काटेर त्यसमा प्लास्टिक सर्जरी गर्ने काम सहज थिएन’, वरिष्ठ सर्जन डा. ठाकुरले भन्नुभयो– ‘अरू अस्पतालले अँँट नगरेको कार्य हामीले ग¥यौं।’

बिरामीको अवस्था राम्रो र सुधारोन्मुख रहेको बताउँदै उहाँले बिरामीलाई पोस्ट अपरेटिभ वार्डमा राखिएको जानकारी दिनुभयो।

डा. ठाकुरका अनुसार अलिममा थोरै व्यक्तिमा हड्डीबाट लाग्ने ‘लो ग्रेडको क्यान्सर अन्ट्रीे सार्काेमा’ भएको वीर अस्पतालको प्रतिवेदनमा उल्लेख छ तर यस्तो रोग बाल्य अवस्थामा मात्र लाग्ने भएकाले यसको पहिचानका लागि बायोप्सी गर्न पठाइएको छ। उक्त रिपोर्ट आएपछि ट्युमर मात्रै हो या क्यान्सर पनि हो भन्ने थाहा हुन्छ।

डा. ठाकुरले भारतमा भए ५ देखि ६ लाख भारतीय रूपियाँमा हुने शल्यक्रिया आफूहरूले २ लाख ८० हजारमा गरेको दाबी गर्नुभयो।
नेपाल क्यान्सर अस्पतालद्वारा उक्त विषयमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले नेपालमै सबै प्रकारका क्यान्सरको उपचार हुने भए पनि विपन्न क्यान्सर रोगीले हात फैलाउनुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्य हुनुपर्ने बताउनुभयो।

अस्पतालको निर्देशक एवम् उपचारका लागि सहयोगी हातहरूकी अध्यक्ष स्वरूपा श्रेष्ठले जटिल शल्यक्रियाको सफलतापछि धेरै बिरामीमा क्यान्सरको उपचार नेपालमै गर्नुपर्छ भन्ने भावना जागेको उल्लेख गर्नुभयो।

बागमती प्रदेश सेवा सांसद एवम् इन्जिनियर श्रीमती संघकी पूर्वअध्यक्ष विजया श्रेष्ठ केसीले आफूहरुले विपन्न क्यान्सर उपचार कोष खडा गरेको जानकारी दिँदै सहयोगी हातहरुकी अध्यक्ष श्रेष्ठलाई १ लाख ३ हजार ५ सय ०५ रूपियाँ सहयोग रकम हस्तान्तरण गर्नुभयो।

 

 

Skip This