उपचार पछिको खुसी



चिरञ्जीवी मास्के, दोलखा

७० वर्षको उमेरमा घरको आँगनमै लडेर हिपको हड्डी भाँच्चिएर थला पर्नुभएको विष्णुमाया काफ्ले प्रस्तावित चरिकोट अस्पतालमा उपचारपछि खुसी हुनुभएको छ ।

‘दुःखाइ त कम भएको छैन’, विष्णुमायाले भन्नुभयो– ‘टेक्नै नहुने खुट्टा उपचारपछि टेकेर हिँड्न सक्ने भएकाले विस्तारै ठीक हुन्छ भन्ने विश्वास लागेको छ । घर–परिवार, अस्पतालका डाक्टरहरु सबैको सहयोगले नयाँ जीवन पाएको छु ।’

गत फागुन ८ गते खाना खाएर हात चुठ्ने क्रममा दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर ३ जफे सिमलेबेंसीस्थित घरकै पिँडीमा लडेर हिपको जोर्नी खुस्किएपछि बिष्णुमाया थला पर्नुभएको थियो । खुट्टा टेक्नै नहुने भएकाले धेरैले काठमाडौं लगेर उपचार गर्न सुझाए पनि आर्थिक अभावका कारण काठमाडौं लाने अवस्था नभएको र न्याय हेल्थ नेपालले सञ्चालन गरेको सदरमुकाम चरिकोटको प्रस्तावित चरिकोट अस्पतालमा हाडर्जोर्नीको राम्रो उपचार हुन्छ भन्ने सुनेकाले उपचारका लागि यहीं ल्याएको विष्णुमायाको बुहारी भगवती काफ्लेले बताउनुभयो ।

फागुन ८ गते हिपको हड्डी भाँच्चीएको भए पनि विविध कारणले फागुन ११ गतेमात्र उपचारका लागि प्रस्तावित चरिकोट अस्पताल ल्याएको काफ्लेले बताउनुभयो । ‘आमा (सासु आमा) लाई काठमाडौं लानुपरेको भए ३/४ लाख रुपियाँ लाग्छ भनेका थिए ।

त्यति धेरै पैसा नभएकाले काठमाडौं लाने अवस्था पनि थिएन’, काफ्लेको भनाइ छ– ‘प्रस्तावित चरिकोट अस्पतालमा १८ हजार रुपियाँमै राम्रोसँग सजिलै उपचार सम्भव भयो ।’

जेष्ठ नागरिक विष्णुमाया दम र खोकीका कारण निक्कै विरामी परेकोले केही दिन अघिमात्र प्रस्तावित चरिकोट अस्पतालमै निःशुल्क उपचार गरी घर लगेको र फेरि लडेर हिप भाँच्चिएपछि सुलभ शुल्कमा चरिकोट अस्पतालमै उपचार भएको बुहारी भगवतीले बताउनुभयो ।

गरिब दुःखीको लागि प्रस्तावित चरिकोट अस्पताल निक्कै राम्रो छ, निःशुल्करुपमा हरेक रोगको उपचार विशेषज्ञ डाक्टरको देखरेदमा सहज ढङ्गले पाउन सकिने रहेछ।’ –उहाँले बताउनुभयो ।

जेष्ठ नागरिक बिष्णुमायाको हिपको अप्रेशन अस्पतालका हाडर्जोनी रोग विशेषज्ञ डा. मन्दीप पाठक र एमडीजीपी डाक्टर तुलाकृष्ण गुप्ताको टिमले गरेको थियो । अप्रेशनपछि हिपको र्जोनीमा स्टिलको पाता राखेर उपचार गरिएको डाक्टर तुलाकृष्ण गुप्ताले बताउनुभयो । उमेर धेरै भएको र बिष्णुमायाको मेरुदण्ड बाङ्गो भएकाले उपचारमा निक्कै कठिनाइ भएको डाक्टर गुप्ताको भनाइ छ । बै उपचार र औषधि निशुल्क भएको बताउनु भयो ।

नेपाल अर्थोपेडिक एसोशीएसनको सहयोगमा प्रस्तावित चरिकोट अस्पतालमा नलीखुट्टा र हातको लामो हड्डी भाँचिएको बिरामीको निःशुल्क उपचार हँुदै आएको तर र्जोनी तथा अन्य हड्डी भाँच्चिएकोमा भने पाता किन्नुपर्ने भएकाले केही शुल्क तिर्नुपर्ने डाक्टर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्