बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ



गोकुल घोरसाइने, बारा

छिमेकी महिलासँग पटक–पटक अवैध सम्बन्ध राख्दै आएका एक यौन दुराचारी वृद्धलाई बालिका बलत्कार अभियोगमा प्रहरीले पक्राउ गरिएको छ ।

निजगढ नगरपालिका वडा नम्बर १० का ७३ बर्षे सीताराम पौडेललाई पछिल्लोपटक १३ बर्षे बालिका बलात्कार अभियोगमा अस्थायी प्रहरी पोस्ट रतनपुरी र इलाका प्रहरी कार्यालय निजगढबाट खटेको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको हो । आफूलाई बलात्कार गरेको बालिकाले बताएपछि आफन्त र स्थानीयले नियन्त्रणमा लिएका पौडेललाई प्रहरीको जिम्मा लगाएका थिए ।

पिडितकोे तल्लो पेट दुख्न थालेपछि आफन्तले सोधखोज गर्ने क्रममा बालिकाले ५ दिनअघि पौडेलले ललाइफकाई बलात्कार गरेको आफ्नी दिदीलाई जानकारी गराएकी थिइन् । बालिकालाई प्रलोभनमा पारेर पौडेलले लामो समयदेखि बलात्कार गर्दै आएको बताइएको छ ।

पछिल्लोपटक मकैबारीमा घाँस काट्न गएको मौका पारेर पौडेलले बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय निजगगढका प्रहरी निरीक्षक विकास थपलियाले बताउनुभयो ।

‘बेलाबेलामा खानेकुरा र २/४ सय रुपियाँ पनि दिने गरेका रहेछन्, निरीक्षक थपलियाले भन्नुभयो– ‘प्रलोभनमा पारेर लामो समयदेखि करणी गर्दै आएको बुझियोे ।’ पिडित बालिका र पौडेलको आइतबार राति नै मेडिकलपछि जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको निरीक्षक थपलियाले जानकारी दिनुभयो ।

यसअघि पिडित बालिकाकी आमा र अर्की एक छिमेकी महिलालाई पनि प्रलोभनमा पारेर पटकपटक अवैध सम्बन्ध राख्दै आएका पौडेलले आफन्तसंग माफी मागेपछि मिलापत्र गरेर उन्मुक्ति दिइएको थियो ।

अघिल्ला दुबै घटनामा महिलाका पति र आफन्तसँग एकपटकका लागि भन्दै माफी मागेपछि पौडेललाई त्यसै छोडिएको थियो । ‘श्रीमतिको केसमा घरमै आएर अब त्यस्तो गल्ती गर्दिनँ एकपटकका लागि माफी दिनुहोस् भनेको थियो’, पीडित बालिकाका बुबाले भने– ‘तर, अहिले फेरि छोरीमाथि त्यस्तो भएपछि सहने ठाउँ नै रहेन ।’

‘पहिलो घटनामै कानुनी कारबाही गर्न सकेको भए आज फेरि यस्तो गर्ने दुस्साहस गर्दैनथ्यो होला ।’ –उनले भने । त्यसपछि पौडेलले गाउँकी अर्की एक महिलालाई प्रलोभनमा पारेर बलात्कार गरेको र आफन्तसँग माफी मागेपछि सो घटना पनि गाउँघर मै सामसुम पारिएको स्थानीयले बताए ।

 

प्रतिक्रिया दिनुहोस्