वडा कार्यालय स्वास्थ्य संस्थाविहीन



विमल विष्ट,डोटी ।

जनप्रतिनिधि र वडा कार्यालयका कर्मचारीको लापरबाहीका कारण जिल्लाका अधिकांश वडा कार्यालय वर्षौंदेखि स्वास्थ्य संस्थाविहीन अवस्थामा रहेका छन् ।
सरकारले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गरी १५ शैयाका अस्पताल बनाउने प्रावधान अघि सारे पनि कतिपय वडा कार्यालयहरुमा सामान्य औषधोपचार गर्ने स्वास्थ्य संस्था पनि स्थापना हुन सकेका छैनन् ।

स्वास्थ्य संस्था नहुँदा स्थानीय नागरिकले सामान्य उपचारका लागि जिल्ला सदरमुकाम सिलगढी, गाउँपालिकामा रहेका स्वास्थ्य संस्था तथा जिल्लाबाहिर जानुपर्ने वर्षौंदेखिको बाध्यता कायमै रहेको छ । सरकारले तोकेका मापदण्डहरु ती वडा कार्यालयले पुरा गर्न नसक्दा स्थानीयबासीले दुःख पाउँदै आएको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीय डम्बरबहादुर विष्टको आरोप छ ।

गाउँपालिकाअन्तर्गतका दशवटा वडा कार्यालय वर्षांैदेखि स्वास्थ्य संस्थाविहीन रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले दिनुभएको जानकारीअनुसार नेपाल सरकारबाट स्वीकृत मापदण्डअनुसार जिल्लाका नौ वटा स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेको र पाँच स्थानीय तहका दश वटा वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका छन् ।

उहाँका अनुसार ती दश वडाहरुमा सामुदायिक स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्रहरु भए तापनि मापदण्ड पूरा भएका आधारभूत स्वास्थ्य केन्द्र नरहेकाले स्वास्थ्य कार्यालयको रेकर्डमा दशवटै वडा स्वास्थ्य संस्थाविहीन भएका हुन् । वडा कार्यालयका पदाधिकारीको गैरजिम्मेवारीका कारण दश वटा वडा कार्यालय स्वास्थ्य संस्था विहीन भएको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो ।

जिल्लामा वर्षौंदेखि स्वास्थ्य संस्थाविहीन भएका वडाहरुमा बडिकेदार गाउँपालिकाको वडा नं २, दिपायल सिलगढी नगरपालिकाको वडा नं ३, ४ र ७, आदर्श गाउँपालिकाको वडा नं. ३, सायल गाउँपालिकाको वडा नं. २, ५ र ६ र शिखर नगरपालिकाको वडा नं. ३ र ८ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका तथ्याङ्क अधिकृत एवं सूचना अधिकारी महेश बोहराले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार ७ वटा स्थानीय तहले सामुदायिक स्वास्थ्य इकाइ, नगर स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रका रुपमा ३१ वटा स्वास्थ्य सँस्था स्थापना गरेका छन् ।

जसमध्ये बडीकेदार गाउँपालिकाले ५, दिपायल सिलगढी नगरपालिकाले ४, आदर्श गाउँपालिकाले ६, सायल गाउँपालिकाले २, शिखर नगरपालिकाले ३, जोरायल गाउँपालिकाले ६ र बोगटान फुड्सिल गाउँपालिकाले ५ वटा स्वास्थ्य संस्था स्थापना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्