कहिले भत्किएलान् शहरका ‘छाउकोठा’



नेपाल समाचारपत्र, हेटौंडा ।
परम्परागत सोचमा परिवर्तन आउन नसक्दा हेटौंडामा अदृष्यरूपमा ‘छाउकोठा प्रथा’ कायम रहेको पाइएको छ।
समाजमा महिलालाई हेर्ने सकारात्मक सोच विकास नहुनु परम्परादेखि चल्दै आएको कुप्रथालाई महिलाले नै छाड्न सकेका छैनन्। सरकारले विभिन्न जिल्लाका छाउगोठ भत्काउने अभियान सञ्चालन गरेसँगै छाउगोठहरू भटाभट भत्किन थाले। तर, शहरको नदेखिने छाउकोठा कहिले भत्किएला ?
हेटौंडा—२ निवासी १५ वर्षीया अम्बिका कार्की (नाम परिवर्तन) पहिलोपटक महिनावारी भइन्। सिद्धार्थ माविको कक्षा–९ मा अध्ययनरत् उनलाई घरबाट केहीपर हेटौंडा—५ को पिप्लेमा नाताले हजुरआमा पर्ने आफन्तको घरमा उनकी आमाले छाडिदिइन्।
उक्त घरमा त्यति घुलमिल नभएकी कार्की ११ दिन त्यहाँ बस्नुप¥यो, त्यो पनि घामको दर्शनबिना। उनले त्यसबेला घाम हेर्नै पाइनन्। घरका दाजुभाइ तथा अन्य पुरुषलाई ‘हेर्न हुन्न है’ भनेर सिकाइयो। उनको नियमित दिनचर्याको साटो दिउँसो शौचालय जानुप¥यो, त्यो पनि हजुरआमाले सलले अनुहार ढाकेर लैजाने गरिन्।
‘बिहान उठ्ने, नुहाउने, लुकेर बस्ने। दिएका खानेकुरा खाने। यही नै मेरो दिनचर्या भयो। ११ दिनसम्म यही प्रक्रिया चलिरह्यो। १२औं दिन नुहाएर घर फर्किन पाएँ,’ उनले भनिन्– ‘११ दिन साह्रै कष्टपूर्ण रह्यो।’
पिप्लेकी १४ वर्षीया शिक्षा कठायत (नाम परिवर्तन) को पनि उस्तै पीडा छ। हेटौंडा–४ मा रहेको आधुनिक माविको कक्षा–८ मा अध्ययनरत् शिक्षाले पनि यस्तै बन्धकझैंm पीडा भोग्नुप¥यो। फूपूदिदीको घरमा लुक्न गएकी उनले सात दिनसम्म आफ्नो पढाइ छुटाउनुप¥यो।
सात दिनपछि घर फर्किंदाको क्षण उनका लागि नरमाइलो बन्न पुग्यो। उनी भन्छिन्– ‘म सात दिनपछि घर फर्किंदा दाजुभाइ र बुबासँग पहिला जसरी बोल्न हुन्न भन्ने खालका कुरा मलाई फूपूदिदीले सिकाउनुभएको थियो। मसँग भाइ बोल्न आउँदा पनि त्यो बेला म खुलेर बोल्न सकिनँ, न त बुवासँग खुलेर बोेल्न सकें।’
आधुनिककै कक्षा–८ मा अध्ययनरत् भविष्य खड्का (नाम परिवर्तन) पनि पहिलोपटक महिनावारि हुँदा हेटौंडाबाट टाढा फूपूदिदीको घर हर्नामाडी जानुप¥यो। त्यो क्षण उनलाई सम्झनासमेत मन छैन। सधैं डुली हिँड्ने खड्का महिनावारि भइसकेपछि पहिलाजस्तो स्वतन्त्ररूपले हिँड्न नपाउने कुरा घरका अभिभावकले गर्ने गरेको उनले बताइन्।
राम्रोसँग हावा नछिर्ने, राम्ररी सुत्न नमिल्ने कोठामा चिसोका कारण आफूलाई असर परेको उनले बताएकी छन्।
महिनावारि भएको समयमा घर÷परिवारमा छोइहाले घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन्, पाप लाग्छ भन्नेजस्ता रुढीवादी र अन्धविश्वासबाट महिला प्रताडनामा पर्ने गरेका छन्।
सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेल्धुराका ग्रामीण क्षेत्रमा महिलाले रजस्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनुहुँदैन भन्ने अन्धविश्वास कायम रहेको बेला बागमती प्रदेशको राजधानीमै यस्तो घटना बाहिरिएको हो।
छुईका कारण अलग बसेका बेला महिलामा पटकपटक अप्रिय घटना हुन थालेपछि महिला चिन्तित छन्। विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला यस परम्पराबाट पीडित छन्। महिनावारि भएको ९ दिनसम्म घरदेखि टाढा बस्नुपर्ने हुन्छ।
छाउपडी बस्ने महिलाले दही, दूध खाएमा र घर तथा भाँडाकुडा छोए देउता रिसाउँछन् भन्नेजस्ता अन्धविश्वास छ। रजस्वला भएकी महिलालाई झन् सफा राख्नुपर्ने तथा प्रशस्त पोषिलो आहार खुवाइ आराम गराउनुपर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरी/बुहारीसमेतलाई रजस्वला हुँदा घरका गाई/भैंसीको दूध खान दिइँदैन।
यस्तो प्रथाजस्तो भेदभावपूर्ण व्यवहारविरुद्ध सर्वोच्च अदालतले नेपाल सरकारका नाममा २०६२ वैशाख १९ गते यस प्रथालाई कुरीति घोषणा गरी उक्त प्रथा अन्त्य गर्न आवश्यक निर्देशिका बनाएर लागू गर्न आदेश जारी गरेको थियो। सन् २०१८ अगस्टमा नेपालले छाउपडीलाई गैरकानुनी घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्