विकासको सूचकाङ्क पुँजी निर्माण हो: मन्त्री अर्याल



स्याङ्जा, (नेस)
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अब पुँजी निर्माण गर्नु नै विकासको आधार भएको बताउनुभएको छ।
नापी कार्यालय वालिङको नवनिर्मित भवनको समुद्घाटन तथा स्याङ्जामा पुनः नाप नक्सा शुभारम्भ गर्दै मन्त्री अर्यालले अबको विकासको आधार भनेको पुँजी निमार्ण भएको बताउनुभएको हो। विकासको सूचकाङ्क भनेको पुँजी निर्माण भएको भन्दै अब पुलपुलेसा निर्माणभन्दा पनि पुँजी निर्माण कति भएको छ भन्ने हेर्नुपर्ने मन्त्री अर्यालको धारणा छ। विकासका खाकासहित सरकार अगाडि बढिरहेको जानकारी दिँदै मन्त्री अर्यालले देशलाई कति समृद्धि बनाउन सकियो भन्ने मापन गर्ने बेला आएको बताउनुभयो।
समुद्घाटन कार्यक्रममा गण्डकी प्रदेश विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी, नापी विभागमा महानिर्देशक केदार न्यौपाने, गण्डकी प्रदेश सांसद मिनप्रसाद गुरुङ, वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणलगायतका वक्ताहरुले जनतालाई सेवा प्रवाह सुविधायुक्त भवनबाट दिनुपर्छ भन्ने मान्यतालाई सरकारले शिरोधार्य गरेको बताउनुभएको थियो। २ करोड १४ लाख २६ हजार १ सय ५४ रुपियाँमा निर्माण गरिएको भवन १४ कोठाको रहेको छ। वालिङको नापी कार्यालयबाट साविकका ३१ गाविसका जनतालाई सेवा प्रवाह हँुदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्