समाचार प्रभाव: विचल्लीमा परेकालाई बालिकालाई सहयोग



धादिङ, (नेस)
नेपाल समाचारपत्रमा समाचार प्रकाशित भएपछि बालिकाले सहयोग पाउन थालेकी छन्।
धुनीबेंसी नगरपालिका–५ ढकालखोला ११ वर्षीया सपना तामाङ, बहिनी १० वर्षीया बिपना तामाङ र उनका हजुरबुबा ७५ वर्षीय जेठा तामाङलाई घरमै पुगेर सहयोग गर्ने बढेका छन्। बाबुले ज्यान मुद्दाको सजाय भोगिरहेका बेला आमाले ३ वर्षको हुँदा छाडेर बेपत्ता भएपछि कष्टकर जीवन बिताउँदै वृद्ध हजुरबुबाको सहारामा जीवनयापन गर्दै आएका तामाङ परिवारको दर्दनाक अवस्थाका बारेमा नेपाल समाचारपत्र दैनिकमा फागुन २० गते ‘आमाले छाडेपछिको दर्दनाक अवस्था’ शीर्षकमा समाचार प्रकाशन भएको थियो।
समाचार प्रकाशनपछि कुलेश्वर लिकमार्ग निवासी कर्णबहादुर सिंहले खाद्यान्न, कपडा तथा भाँडाकुँडा सहयोग गर्नुभएको छ।
दाल, चामल, कपडा, भाँडा तथा सरसफाइ सामग्री बिहीबार घरमै पुगेर धुनीबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र दिव्य दर्शन टेलिभिजनका प्रबन्धक उत्तम अधिकारीले हस्तान्तरण गर्नुभएको थियो। सहयोग पाएपछि खुसी भएका ७५ वर्षीय जेठा तामाङ अरूको दुःखमा सहयोग गर्नेलाई सधैं फाइदा पुगोस् अनि धर्म होस् भन्ने आशीर्वाद दिनुभएको थियो।
यसैगरी, बिचल्लीमा परेका बालबालिकालाई स्नातक तहसम्मको शिक्षामा सहयोग गर्ने र आवश्यक परेमा परिवारलाई सहयोग उपलब्ध गराउने मानवी क्रिएटिभ एसोसिएसनका बद्रि ढंगानाले बताउनुभएको छ। सहयोग पाएर उच्च शिक्षा पढ्न पाउने भएपछि बालबालिका समेत खुसी भएका छन्। शिक्षा र अन्य सहयोगका लागि धुनीबेंसी नगरपालिकाले समेत सहयोग गर्ने नगरपालिका प्रमुख आचार्यले बताउनुभएको छ।
विद्यालय र छिमेकीहरूसमेत सामान हस्तान्तरण कार्यक्रममा सहभागी भएर उनीहरूको उच्च शिक्षा पढ्ने अवसरका लागि गाउँवासीले समेत सहयोग गर्ने बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्