गोली चल्दा युवक घाइते



नवलपरासी, (नेस)
पूर्वी नवलपरासीको कोल्हुवामा शनिबार मध्यरात गोली चल्दा स्थानीय एक युवक घाइते भएका छन्। घाइते हुनेमा मध्यविन्दु–२ नन्दपुरका ३४ वर्षीय जोगनारायण भन्ने प्रेम महतो रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ। प्रहरीका अनुसार गए राति ११ बजे कोल्हुवा प्रहरी चौकीका सई गंगाराम कोइरीको नेतृत्वमा गस्तीमा रहेको प्रहरी टोलीमाथि ढुंगामुढा भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको थियो।
कोखा र गोडामुनि गरी २ गोली लागेका महतोको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ भने घटनामा संलग्न मध्यविन्दु–३ का ३० वर्षीय मुन्ना महतो र १९ वर्षीय सुरज महतोलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कोल्हुवाको भित्री सडकमा तीनजना सवार रहेको मोटरसाइकल चेक जाँच गर्न रोक्ने क्रममा सवारीले धक्काउँदै उक्त समूहले प्रहरीमाथि हातपात गर्दा सो घटना भएको हो। प्रहरीले युवाका साथबाट एक थान खुकुरी र ना४९प ६५१३ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्