२७ हजार बालबालिकालाई खोप



बैतडी, (नेस)
दादुरा–रुबेला खोप अभियानको स्वास्थ्य कार्यालयले तयारी तीव्र पारेको छ। उक्त अभियान आगामी चैत १ गतेदेखि चैत १४ गतेसम्म सञ्चालन हुने भएको हो।
बैतडीका ९ महिनाभन्दा माथिका र ५ वर्षमुनिका २७ हजार ४ सय ३४ बालबालिकालाई सो खोप लगाइने जनाइएको छ। दादुरा तथा रुबेला रोग लाग्न नदिनका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो।
अभियान सञ्चालनका लागि तयारीस्वरूप जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य प्रमुख, उपप्रमुख र स्वास्थ्य चौकी इन्चार्ज खोप दिने जिल्लाका सबै स्वास्थ्यकर्मीलाई तालिम दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो। जिल्लाका सबै स्वास्थ्य संस्थामा भ्याक्सिनबाहेकका सबै सामग्री पुगिसकेको प्रमुख भट्टको भनाइ छ।
जिल्लाका ८४ प्रतिशत बालबालिकाको मात्रै खोपमा पहुँच देखिएकाले दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको हो। दादुरा–रुबेला खोप अभियानका लागि २ सय बढी स्वास्थ्यकर्मी र १ हजार २ सय ६० स्वयंसेवक परिचालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
चैत १ देखि ७ गतेसम्म पहिलो चरण र ८ देखि १४ गतेसम्म दोस्रो चरण गरेर दुई चरणमा खोप अभियान सञ्चालन हुने जनाइएको छ।
पहिलो चरणमा जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका,सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाको कटौजपानीमा खोप अभियान सञ्चालन हुनेछ। दोस्रो चरणमा पाटन नगरपालिका, कटौजपानीबाहेकका दोगडाकेदार गाउँपालिकाका सबै वडा, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन हुने खोप सुपरभाइजर निरीक्षक भट्टको भनाइ छ।
जिल्लाका ६ सय ३० खोप केन्द्रबाट दादुरा–रुबेला खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्