डोटीमा फैलिएको रोग मौसमी रुघाखोकी



डोटी, (नेस)
५ जना विद्यार्थीमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ। जोरायल गाउँपालिका–५ चौकी गाउँमा पर्ने जनप्रिय आधारभूत माविका बिरामीको रगत संकलन गरी अस्पतालमा परीक्षण गराउँदा उक्त रोग मौसमी रुघाखोकी भएको पुष्टिभएको छ।
‘हामीले बिरामी परेका विद्यार्थीको रगत संकलन गरी परीक्षण गराउँदा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ, आत्तिनुपर्ने अवस्था केही छैन उपचारपछि सबै निको हुनेछन्।’ –जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गाविन्द विष्टले बताउनुभयो। यही फागुन २१ गतेदेखि सो विद्यालयको होस्टेलमा रहेका विद्यार्थीबाट उक्त रोग शुरू भएको थियो।
विद्यालय नै बन्द गर्ने गरी सबै विद्यार्थी एकाएक बिरामी परेपछि जिल्ला अस्पातल डोटी तथा स्थानीय स्वास्थ्य संस्थाबाट उपचारका लागि चिकित्सक टोली सो क्षेत्रमा गएको थियो। टोलीले शुक्रबारदेखि बिरामी परेका विद्यार्थीको उपचार गर्न शुरू गरेको छ। होस्टेलको सरसफाइ तथा खानामा खासै ध्यान नदिँदा उक्त रोग फैलिएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले बताउनुभयो।
स्वास्थ्यकर्मीको टोलीले विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरू गरेपछि हाल बिरामीको अवस्था सामान्य हुँदै आएको सो विद्यालयका शिक्षक हर्कबहादुर कठायतले बताउनुभयो।
‘विद्यार्थीलाई रुघाखोकी लाग्दा मास्क लगाउनुपर्छ भन्ने पनि नसिकाएको रहेछ, हाल त सामान्य कुरामा पनि ध्यान दिनुपर्ने अवस्था छ।’ –जिल्ला अस्पताल डोटीका डा. ज्योति पाण्डेले बताउनुभयो।
त्यस्तै, चिकित्सक टोलीले पानी उमालेर प्रयोग गर्ने, झाडापखाला लाग्दा झोलिलो पदार्थ खाने सल्लाहसमेत दिएको छ। अज्ञात रोगले विद्यार्थी बिरामी भएको समाचार तथा फोटो विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि संघीय स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय डोटीको निर्देशनमा विद्यार्थीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली शुक्रबार उक्त क्षेत्रमा गएको थियो।
आफ्ना नानी बाबुहरू एकाएक बिरामी परेका कारण विद्यार्थीका अभिभावकहरू पनि चिन्तित बनेका थिए।

 

प्रतिक्रिया दिनुहोस्