एसिया प्यासिफिक सम्मेलन सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौँ

बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक क्षेत्रको ४५औं सम्मेलन सम्पन्न भएको छ।
सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै सम्मेलन आयोजक समितिका अध्यक्ष मोहन लम्सालले चार सय सहभागीमध्ये करिब तीन सय विदेशी पाहुनाको सहभागिता रहेको सम्मेलन सम्पन्न भएको बताउनुभयो।
उहाँले बालबालिकामार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर रहेको संस्थाको स्थापना नेपालमा सन् २०१५ मा भएको जानकारी गराउनुभयो।
‘हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेसनरी, खाजा, खेलकुद सामग्रीलगायतका सामान प्रदान गर्दै आएका छौं। यस्तै बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छौं।’ –सम्मेलन आयोजक समितिका अध्यक्ष लम्सालले भन्नुभयो।
किवानिज एसिया प्यासिफिक सचिव माइकल चुले नेपालले यसपटकको सम्मेलन आयोजना गर्नु आफैमा गर्वको कुरो रहेको बनाउँदै नेपालमा किवानिज एसिया प्यासिफिक जोनका नागरिक नेपाल र नेपालीप्रतिको बुझाइमा अझ सकारात्मक भएको उल्लेख गर्नुभयो।
‘नेपालमा एसिया प्यासिफिक सम्मेलनमार्फत् भिजिट नेपाल २०२० लाई सफल पार्न १५ सयभन्दा बढी प्रतिनिधि र तीन हजार पर्यटक भिœयाउने हाम्रो लक्ष्य रहेकोमा विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सम्मेलनमा सहभागी हुने विदेशी पाहुना घट्न पुगे।’ –किवानिज इन्टरनेसनल नेपालका संस्थापक अध्यक्ष सुजनकुमार श्रेष्ठले भन्नुभयो। उहाँले किवानिज इन्टरनेशसनल नेपालमा हालसम्म देशभर १ हजार ९२ सदस्यसहित ५१ वटा किवानिज क्लब गठन भएको जानकारी दिनुभयो।
किवानिज इन्टरनेसनल नेपालका संस्थापक राष्ट्रिय सचिव लक्ष्मण लम्सालले १ सय ५ वर्ष पुरानो संस्था किवानिजको सदस्य राष्ट्र नेपालसमेत हुनुु आफैमा गर्वको कुरा भएको बताउनुुभयो। उहाँले नेपालमा आयोजना भएको ४५औं एसिया प्यासिफिक सम्मेलनले पर्यटन गन्तव्यका लागि अझै पनि नेपाल एक उत्तम गन्तव्य हो भन्ने सन्देश दिएको दाबी गर्नुभयो।
सचिव लम्सालले किवानिज इन्टरनेसनल नेपाल र किवानिज इन्टरनेसनल अस्ट्रेलियाको समन्वयमा शारीरिक अपांगता भएका १८ वर्षभन्दा कम उमेरका नेपाली बालबालिका जसको नेपालमा उपचार सम्भव छैन त्यस्ता बालबालिकाको निःशुल्क शल्यक्रिया अस्ट्रेलियामा गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। यसपटक नेपालमा आयोजना भएको किवानिज इन्टरनेसनल एसिया प्यासिफिक सम्मेलन हेरक वर्ष आयोजना हुने गर्छ, जसमा निर्वाचनमार्फत् अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारी चयन हुने गर्छन्।
जसमध्ये यसपटक एसिया प्यासिफिकको अध्यक्षमा फिलिपिन्सका केन एलोभेरा, निर्वाचित अध्यक्षमा अस्ट्रेलियाका क्लिटन ग्रीन र उपाध्यक्षमा फिलिपिन्सका म्यारि बेल ग्रासिया चयन हुनुभएको छ। यस्तै एसिया प्यासिफिक क्षेत्रबाट टस्टीमा तीन वर्ष कार्यकाललाई जापानका बुहेता फुजिवारा र दुई वर्षका लागि फिलिपिन्सका विलफ्रेडो जी आगुइलार निवाचित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्