तीन स्थानमा कोरोना हेल्प डेक्स



नेपाल समाचारपत्र, बारा

सशस्त्र प्रहरी बल बाराको संयोजनमा जिल्लाको तीन स्थानमा कोरोना भाइरससम्बन्धी हेल्प डेस्क स्थापना गरिएको छ। भारतबाट आवागमन बढी हुने तीन स्थानको पहिचान गरी हेल्प डेस्क स्थापना गरिएको हो।

कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा, सिम्रौनगढ नगरपालिका–६ स्थित सतुही र सुवर्ण गाउँपालिका–३ स्थित सन्तगंज कबहिगोठमा एकैपटक स्वास्थ्यकर्मीसहितको हेल्प डेस्क स्थापना गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताउनुभयो।

बाराको प्रमुख नाका मटिअर्वास्थित सशस्त्र प्रहरी बल नेपाल बीओपी मटिअर्वाले आयोजना गरेको हेल्पडेस्कको बाराका प्रजिअ फणिन्द्रमणि पोखरेलले उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा उहाँले धेरै जमघट हुने गरी कुनै कार्यक्रम नगर्नसमेत निर्देशन दिनुभयो।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख कृष्ण पंगेनी, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख, जनप्रतिनिधीहरू तथा कलैया अस्पतालको डा. अञ्जली चौरसियालगायतको उपस्थिति भएको थियो। डा. चौरसियाले कोरोना भाइरससम्बन्धी लक्षण, रोकथामको उपायका बारेमा बताउनुभएको थियो।

जिल्लामा यसरी पहिलोपटक कोरोना भाइरससम्बन्धी सचेतनामूलक हेल्प डेस्क स्थापना गरी सशस्त्र प्रहरी बलले गरेको अग्रसरताको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले सराहना गर्नुभयो। सचेतना बढाउन सशस्त्र प्रहरी बल, नेपालले माक्स, सचेतनामूलक पम्पलेट वितरण गरिएको र सो कार्यक्रम आगामी तीन दिनसम्म सञ्चालन गरिने कुरा सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो।

निजगढले मास्क वितरण गर्ने निजगढ नगरपालिकाले २० हजार थान मास्क स्थानीयलाई वितरण गर्ने निर्णय गरेको छ। निजगढ नगरपालिकाको स्वास्थ्य समितिको बुधबारको बैठकले कोरोना भाइरसबाट बच्न स्थानीयलाई निःशुल्क वितरण गर्ने गरी मास्क खरिद गर्ने निर्णय गरेको हो।

बैठकले कोरोनाबाट बच्ने उपायसम्बन्धी सर्वसाधारणलाई थप जानकारी दिन नगरका सार्वजनिक स्थानहरूमा सचेतनामूलक ब्यानर राख्ने तथा रेडियो र पत्रत्रिकामार्फत सार्वजनिक सूचनासमेत प्रशारण गर्ने निर्णय पनि गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्