कोरोना भाइरसको आतंक



गणेश घिमिरे, इलाम

विश्वव्यापी रूपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण र सन्त्रासबाट सजग रहन इलाम नगरपालिकाले पनि सक्रियता थालेको छ। कोरोना भाइरसकै कारण आउँदो चैत ३० गतेबाट हुने भनिएको तीनदिने इस्ट टुरिजम फेस्टिबल अर्को निर्णय नभइन्जेलसम्म स्थगित गर्ने निर्णय गरेको छ। यस्तै कोरोना भाइरसको संक्रमण, सन्त्रास र प्रकोपबाट बच्न बचाउन घरदैलोमा सचेतना अभियान सञ्चालन गर्ने, सभा, समारोह, प्रशिक्षण, आमभेलालगायतका कार्यहरू नगर्नका लागि आह्वानसमेत गरेको छ।

इलाम अस्पतालका मेडिकल अधिकृत डाक्टर बैभव मल्लिकले कोरोना भाइरसबाट ५ वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका वृद्धवृद्धा, गर्भवती महिला, एचआइभी संक्रमित तथा प्रेसर, सुगर भएका रोगीहरू बढी जोखिममा पर्ने बताउनुभयो। एकैसाथ ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिने तथा दश दिनसम्म लगातार रुघाखोकी लागेको मानिसमा यो भाइरसको संक्रमण हुनसक्ने सम्भावना प्रबल रहने जनाउनुभयो।

इलाम अस्पतालले समेत यस्ता बिरामी आएको खण्डमा शंकाको रुपमा राख्दै दुईवटा आइसोलेन बेड तयारी अवस्थामा राखेको बताउनुभयोे। यता जिल्लाको नेपाल भारत प्रमुख नाका सूर्योदय नगरपालिकाको पशुपतिनगरमा स्वास्थ्य जाँच गरिन थालेको छ। भारतीय नाकाबाट कोरोनाको जोखिम कम गर्न जाँच शुरु गरेको मेयर रणबहादुर राईले बताउनुभयो। नाकाका २ स्थानमा डेस्क स्थापना गरी भारतबाट नेपाल छिर्ने प्रत्येक व्यक्तिको तापक्रम जाँच गरिन थालेको हो।

पशुपतिनगरको मूल गेटबाहेक भारतबाट नेपाल भित्रिने अन्य नाकामा सुरक्षा जाँच कडा बनाएको मेयर राईको भनाइ छ। मानिसको शरीरमा नछोई तापक्रम जाँच गर्ने २ वटा थर्मल गन नगरपालिकाले व्यवस्था गरेको छ। चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वको ८० देशमा फैलिसकेको छ। यसबाट सबैभन्दा बढी प्रभावित चीनसंगै दक्षिण कोरिया, इरान र इटाली रहेको छ। यसबाट हालसम्म विश्वमा २३ सयभन्दा बढी मानिसको ज्यान गइसकेको र ९० हजार मानिस संक्रमित भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ।

 

प्रतिक्रिया दिनुहोस्