२०३२ सालमा नापी अहिले अस्थायी पुर्जा !



नेपाल समाचारपत्र, हेटौंडा

जग्गा नापी भएको लामो समयसम्म पनि सरकारले लालपुर्जा बितरण नगरेपछि पूर्वी मकवानपुरको बाग्मती गाउँपालिकाले स्थानीयलाई अस्थायी लालपुर्जा बितरण कार्य अन्तिम चरणमा पु¥याएको छ।

जति प्रयास गर्दा पनि लालपुर्जा हात नपरेपछि निरास बनेका स्थानीयलाई गापाको तर्फबाट नै पुर्जा बितरण गरिने भएको हो। १९९१ सालमा पहिलोपटक जमिन नापी भए पनि केहीले मात्र लालपुर्जा प्राप्त गरेका थिए।

२०३२ सालमा नापी भएर पनि लालपुर्जा बितरण नभएकालाई पुनः नापी गरी अस्थायी रुपमा लालपुर्जा बितरण गरिनेछ। सबैभन्दा धेरै लालपुर्जाविहीन वडा–४ बाट पुर्जा वितरण थालिने भएको हो। गाउँपालिका आफैंले अमिन र सर्वेक्षक नियुक्त गरी स्थानीयले उपभोग गरेका जग्गा नापिरहेको छ।

मकवानपुरको पूर्वी क्षेत्रको विकट गाउँपालिकाका करिब ८० प्रतिशतभन्दा बढी घरधुरी लालपुर्जाविहीन छन्। चुरे जंगलमा पर्ने गाउँपालिका ललितपुर, काभ्रे र सिन्धुलीसँग सीमा जोडिएको छ। स्थानीयले जग्गाको तिरो तिर्दै आए पनि लालपुर्जा पाउन सकेका छैनन्। सशस्त्र युद्ध शुरु भएपछि स्थानीयले तिरो तिर्न छाडेका थिए।

९ जना अमिन र एक सर्वेक्षक नियुक्त गरी गत वर्ष फागुनबाट जग्गा नाप्न शुरु गरिएकोमा हालसम्म ४ नम्बर वडाका करिब ५ सय परिवारको जग्गा नापेर कित्ता छुट्याइएको छ। वडाको झुरझुुरे, थली, पहरी टोल, पाल्पाले, पाँचपाण्डव, लामकाना, डकास, साततले, चाँदेलगायत ठाउँका जग्गानापी गरिसकिएको वडाध्यक्ष रहरसिं थिङले जानकारी दिनुभयो।

‘एक वर्ष अवधिमा वडाका सबै जग्गा नापी गरिसक्यौं। फागुन अन्तिमबाट अस्थायी लालपुर्जा बितरण गरिनेछ।’ –वडाध्यक्ष थिङले भन्नुभयो। स्थानीय सरकारले जग्गाको अभिलेख कायम गर्न यो काम गरेको हो। सरकारी जमिन हस्तक्षेप नहोस् र स्थानीयले उपभोग गरिरहेको जग्गामा पछि सरकारले हस्तक्षेप गर्न नपाओस् भन्ने उद्देश्यले अस्थायी पुर्जा दिन लागिएको वडाध्यक्ष थिङले प्रस्ट्याउनुभयो।

‘संघीय सरकार भूमि सुधार ऐन संसद्मा पारित गरी लालपुर्जा दिने तयारी गरेपछि हामीले पनि जग्गानापी शुरु गरेका हौं।’ –अध्यक्ष घलान भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्