अख्तियामा भ्रष्टाचारसम्बन्धी ७६ वटा उजुरी

0
Shares

गणेश घिमिरे, इलाम
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा गत आर्थिक वर्ष ०७५÷०७६ मा भ्रष्टाचारसम्बन्धी ७६ वटा उजुरी दर्ता भएको छ । जसमध्ये ३९ वटाको फछ्र्याैट भएको छ भने ३७ वटा बाँकी रहेको तथ्याङ्क सार्वजनिक गरीएको छ । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ सबैभन्दा बढी १७–१७ वटा उजुरी परेका थिए । आयोगकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा देशभरबाट भ्रष्टाचारसम्बन्धी २४ हजार ८५ वटा उजुरी परेकोमा १५ हजार ५ सय २७ वटाको फछ्र्यौट भइसकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि इलाममा सरोकारवालाहरुसँग अन्तरक्रियामा तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्लामा रहेका १० वटा स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
पछिल्लो वर्ष अन्य क्षेत्रमा भन्दा स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको र त्यसलाई न्यूनीकरण गर्नका लागि अपनाउन सकिने उपायहरु बारे कार्यक्रममा छलफल गरिएको थियो । अन्तरक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक उजुरी रेकर्ड तथा फछ्र्यौट रेकर्ड, अनुसन्धानमा आइपर्ने चुनौतीहरु, भ्रष्टाचार न्यूनीकरणका लागि स्थानीय तहले गर्न सक्ने कामलगायतका विषयमा आयोगका शाखा अधिकृत गिरिराज भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले कार्यालयअन्तर्गत रहेका उजुरीहरु र गरिएका क्रियाकलापको विषयमा जानकारी गराउनुभएको थियो । आयोगका आयुक्त डाक्टर सावित्रा थापा गुरुङले भ्रष्टाचार नियन्त्रण गर्नका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लामा अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई मात्र भेला पारिएको कार्यक्रममा सहभागीले आक्रोश पोखेका थिए । स्थानीय तहका प्रमुखहरुले अख्तियारले स्थानीय तहका जनप्रतिनिधिलाई थर्काउने शैलीमा मात्र कार्यक्रम आयोजना गरेको बताउनुभएको थियो । फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले अख्तियार ठूला भ्रष्टाचारीलाई आश्रय दिँदै साना काममा भाँजो हाल्ने प्रयत्नमा लागेको बताउनुभयो । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले अख्तियारको काममा ढिलासुस्ती हुने गरेको जनाउँदै झुटा किसिमका उजुरीमा अख्तियार रुमलिँदै आएको बताउनुभउको थियो ।