विनोद सिंह विष्ट, बैतडी
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोराना भाइरस चेकजाँचका लागि स्थापना गरिएको सहायता कक्षमा स्वास्थ्य परीक्षण कार्य भइरहेको छ । सहायता कक्षले हालसम्म झुलाघाट नाकाबाट नेपाल भित्रिने १ सय ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भएको छ ।
दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरूपमा फागुन १० गते सहायता कक्ष स्थापना गरिएको थियो । परीक्षण गरिएका कुनै पनि नागरिकमा कोरोना संक्रमण नभेट्टिएको उहाँले बताउनुभयो । सहायता कक्षमा भारतबाट फर्किने सबै नागरिकको सहायता कक्षमा स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ । नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुई जना स्वास्थ्यकर्मी खटाइएका छन् ।
कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताउनुभयो । सहायता कक्षमा भारतबाट फर्किने नागरिकको इन्फ्रारेड थर्ममिटरले ज्वरो मापन गर्ने गरिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताउनुभयो । सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने, रुघाखोकी लागे नलागेको बारेमा सहायता कक्षमा सोधपुछ भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
अत्यधिक ज्वरो आएको र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा अलगै कोठामा राख्ने व्यवस्था गरिएको समेत भट्टले बताउनुभयो । सीमाबाट फर्कने नागरिकमा कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि सहायता कक्ष स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताउनुभयो ।











प्रतिक्रिया