कांग्रेस वरिष्ठ नेताको दाबी ‘सभापतिले पद बाँडे’



न्युज अफ नेपाल, हेटौंडा ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले ‘पद बाँडेर’ पार्टी विधानविपरीत कार्य गरेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भन्नुभयो–सभापति देउवाजीले पद बाँडेर नेपाली कांग्रेसको महाधिवेशन प्रभावित पार्ने काम गर्नुभएको छ, जुन हामीलाई मान्य छैन ।
नेता पौडेलले १४ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टी सभापतिले विभिन्न पद बाँडेर विधानविपरीत कार्य गरेको आरोप लगाउनुभयो । नेता पौडेलले नेपाली कांग्रेसले आफ्नो कर्तव्य, अधिकार र दायित्व निभाउनु जरुरी रहेको भन्दै पार्टी सभापति देउवाबीच व्यक्तिगत विरोध नभएको तर नीतिगत् र प्रवृत्तिगत मतभेद रहेको दाबी गर्नुभयो ।
उहाँले नेपाली कांग्रेसको आगामी महाधिवेशन प्रभावित पार्ने गरी सभापति देउवाले निर्वाचित भएको चार वर्षपछि मात्र विभाग गठन गरेको र त्यो पनि विधान भन्दा धेरै संख्यामा गरेको भन्दै आपत्ति जनाउनुभयो ।
सभापतिले महाधिवेशन सकिएको कम्तिमा ६ महिनाभित्र गर्नुपर्ने काम अहिले आएर गरेको भन्दै उहाँले पद बाँड्ने कामले कांग्रेसलाई घाटा पुग्ने धारणा व्यक्त गर्नुभयो । पौडेलले भन्नुभयो–राम्रो काम गरेर पार्टीभित्र आफ्नो प्रभाव बढाउनुभन्दा पद बाँडेर पार्टीमा आफ्नो वर्चश्व बढाउनेतर्फ नेतृत्व अगाडि बढिरहेको छ ।
उहाँले देउवाको यस्तो कार्यले प्रजातन्त्र घायल भएको दाबी गर्नुभयो । कार्यकालभर गठन हुन नसकेका विभाग हाल आएर गठन गर्नुका पछाडि महाधिवेशन प्रभावित पार्ने योजना रहेको वरिष्ठ नेता पौडेलले बताउनुभयो ।
नेपाली कांग्रेस बलियो प्रतिपक्ष भएर संसद्मा प्रस्तुत हुनुपर्नेमा आफंै अल्मलिएको भन्दै उहाँले सभापतिको व्यबहारले पार्टीलाई अप्ठेरो परेको दाबी गर्नुभयो । दुई तिहाइ सरकारको प्रतिपक्षमा जसरी नेपाली कांग्रेस सशक्तरुपमा उभिनुपथ्र्यो, त्यसअनुरुप उभिन नसक्नुको कारण प्रवृत्ति नै रहेको उहाँको टिप्पणी छ । ‘पार्टी नेतृत्व सहीढंगले अगाडि बढ्न नसक्दा कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकेको छैन,’ उहाँले भन्नुभयो ।
देश भ्रष्टाचारमा डुबिरहेको अबस्थामा कांग्रेस झन सशक्तढंगले अघि बढ्नुपर्नेमा यसरी पार्टीभित्र पक्ष र विपक्ष भइरहँदा लाजमर्दो रहेको पौडेलले गुनासो गर्नुभयो । ‘हामीले पार्टीलाई सुधारेर राष्ट्रको केन्द्र र शक्ति निर्माण गर्नुपर्छ,’ उहाँले आग्रह गर्नुभयो ।
वरिष्ठ नेता पौडेलले सरकारका प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको र देश पूर्ण भ्रष्टाचारमा डुबेको बताउनुभयो । नेता पौडेलले नीतिगत् र संस्थागतरुपमा नै देश भ्रष्टाचारमा डुबेको बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले महाधिवेशन २०७७ फागुन ७–१० गते तय भएर आचारसंहित लागु भइसकेको अबस्थामा पार्टी सभापतिले विभाग गठन गरेर मान्छेलाई आकर्षित गर्ने काम गरिरहेको बताउनुभयो ।
‘आचारसंहिता लागु भइसकेको छ । ४ वर्षसम्म विभाग गठन नगर्ने तर हाल आएर विभागहरु गठन गरिएकोमा हाम्रो असहमति छ,’ उहाँले प्रश्न गर्नुभयो–पहिला नगर्ने अहिले गर्नुको तात्पर्य के हो ? वहिष्कारबीच पुस ११ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले २८ विभागलाई बढाएर ४७ पु¥याउने निर्णय गरेको थियो ।
महामन्त्री डा. कोइरालाले पार्टी नेतृत्वको रवैया ठीक नभएका कारण कांग्रेस अप्ठेरो अबस्थामा आएकोले पार्टीलाई बलियो बनाउन आफूहरु देशदौडाहमा लागेको बताउनुभयो ।
पार्टी केन्द्रीय सदस्य प्रकाशमान सिंहले महाधिवेशनको मिति तोकिइसकेको अबस्थामा प्रजातान्त्रिक पार्टी रहेकोले अधिवेशन निष्पक्ष र धाँधलीरहित तवरले हुनुपर्ने बताउनुभयो । उहाँले पार्टी सभापतिले गठन गरेका विभाग महाधिवेशनलाई प्रभावित पार्ने किसिमले गरिएका कारण निर्वाचन आचारसंहिता लागु भइसकेपछि गठन प्रक्रियाको विरोध गरिएको स्पष्ट पार्नुभयो ।
पार्टीलाई सुदृढ गर्न, प्रभावकारी बनाउन पार्टी सभापति देउवाले समय सुहाउँदो किसिमले नेतृत्व प्रदान गर्न नसकेको उहाँले बताउनुभयो । केन्द्रीय सदस्य डा. रामशरण महतले सबैको सहमतिमा हुनुपर्नेमा एकतन्त्रीय प्रवृत्तिले पार्टीभित्र समस्या रहेको बताउँदै एक भएर जानुपर्नेमा गुट÷गुट भएर जाँदा राम्रो सन्देश नगएको बताउनुभयो ।
सभापति देउबाले नियमित कार्यकाल सकिनु दुई दिनअघि शनिबार एकपक्षीयरुपमा विभाग गठन गरेपछि आन्तरिक विवाद चर्किएको छ । यसकै प्रभावस्वरुप आइतबार हेटौंडामा पौडेल पक्षधर बागमती प्रदेशका सभापतिको भेला थियो ।
वरिष्ठ नेता पौडेल पक्षले आगामी महाधिवेशनलाई लक्षित गर्दै चुनाबी गतिविधि अगाडि बढाएको छ । पौडेल पक्षका नेताहरुको जिल्ला दौडाहा कार्यक्रमअनुसार हेटौंडामा बागमती प्रदेशका जिल्ला सभापतिको भेला गरेका छन् ।
पौडलपक्षले असहमति जनाए पनि बाँकी रहेका विभागमा पौडेल पक्षलाई समेटिने संस्थापनपक्षले बताएको छ । एउटा विभागमा बढीमा ५१ सदस्य रहन्छन् । यस हिसाबले २ हजार ४ सय नेता÷कार्यकर्ताले जिम्मेवारी पाउँछन् । यदि ६०÷४० को भागवण्डा भए १ हजार ४ सय ४२ जना संस्थापन र ९ सय ६० जना संस्थापनइतर पक्षका हुनेछन् ।
वरिष्ठ नेता पौडेल पक्षको असहमतिबीच देउवाले विभाग गठन गर्नुभएको हो । विधानविपरीत विभाग गठन गरेर महाधिवेशन प्रभावित पार्न खोजेको आरोप संस्थापनइतर नेताहरुले लगाएका छन् । देउवाले पाँच जनालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेकोमा पौडेल पक्षको आपत्ति छ ।
देउवाले शनिबार आफ्नो पक्षका ११ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका एकसहित १२ जनालाई विभाग प्रमुख तोक्नुभएको थियो । यो नै विवादको जड बनेको छ । २०७२ फागुनमा भएको १३ औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित हुनुभएका देउबाको नियमित कार्यकाल सोमबार (फागुन १९) बाट सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्