पाटन दरबार क्षेत्रमा युवा मेला



नेपाल समाचारपत्र, ललितपुर ।
युवा उद्यमशीलता प्रवद्र्धन गर्न पाटन दरबार क्षेत्रमा मेलाको आयोजना भएको छ। ललितपुर महानगरपालिका– १६, मिखा  कन्सलटिङ प्रालि र यल वयेर्सले संयुक्तरूपमा सो मेला आयोजना गरेको हो।
 लोकल मेड इन नेपाल नाम दिएर आयोजना गरिएको सो मेलामा युवावर्गले उत्पादन गरेका विविध सामग्रीको ३० वटा स्टल राखिएको थियो। ती सामग्रीमा लत्ता कपडा, श्रृंगार सामग्री, सज्जावटका लगायत रहेका छन्।
युवा वर्गलाई उद्यमशील बनाउने उद्देश्यले मेला आयोजना गरिएको बताउँदै यल वयेर्सका प्रोपराईटर सिद्धार्थ शाक्यले भन्नुभयो ‘युवा संलग्न रहेको व्यापार,उत्पादनलाई प्रवद्र्धन गर्ने मेलाको लक्ष्य हो। ’ उहाँका अनुसार मेलाको माध्यमबाट करिब दुई सय युवा परिचालन भएको छ। मेलामा युवावर्गले आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गर्नुभएको थियो।
स्वदेशका अधिकांश युवावर्ग आफ्नो देशमा केही गर्न सकिन्छ भन्ने विश्वास नभएपछि विदेश जाने गरेको अवस्थामा यस मेलाको सन्देश, महत्व रहेकोले आयोजक भएको महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो। वैदेशिक रोजगारमा जाने प्रवृत्तिलाई रोक्न र स्वदेशमै युवा स्वरोजगारी वा उद्यमशीलता विकासमा दायित्व बोध गरेर वडाले भूमिका निर्वाह गरेको पनि वडाअध्यक्ष शाक्यको भनाइ रहेको छ।
यसअघि सो वडाले कला र संस्कृति महोत्सव, स्थानीय महिला उद्यमशीलता प्रर्वद्धन गर्न आयोजना गरिएको बुबहाल मेला र दशैं मेलामा मुख्य सहयोगी भूमिका निर्वाह गरेको थियो।

प्रतिक्रिया दिनुहोस्