’तेजस्वी‘ लाई बाबुआमा



मोतीराम तिमल्सिना, काभ्रे ।
सालनालसहित माटोमा लटपटिएको शरीर निलो भइसकेको नवजात शिशुले एसओएस बालग्राम काभ्रेमा अभिभावकत्व प्राप्त गरेको छ। फागुन ४ गते आइतबार बिहान स्थानीयले नवजात शिशु देखेपछि प्रहरीले उद्धार गरेको थियो।
‘शिशु फेला परेको जानकारी प्राप्त भएलगत्तै प्रहरीले उद्धार गरी उपचारका लागि बनेपास्थित शिरमेमोरियल अस्पताल पठायो’ –इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो– ‘११ दिनको उपचार पछि शिशुलाई बालग्राममा हस्तान्तरण गरिएको छ।’
बालग्राम निर्देशक सुरेन्द्र अम्गाईंले शिशुको न्वारान गरी अभिभावकत्व ग्रहण गर्नुभएको छ। उनको नाम तेजस्वी राखिएको छ। ‘पनौती नगरपालिका ४ टौखालस्थित मिनबहादुर बस्नेतको घरनजिकै रहेको इनारको छेउमा रहेका नवजात शिशुको उद्धार गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक तिमल्सिनाले बताउनुभयो।
‘बच्चाको उपचार हँुदाहँुदै प्रहरी सेलमार्फत् एसओएस बालग्राममा बच्चाको जिम्मेवारीका लागि प्रस्ताव आयो र अभिभावकत्वका लागि प्रकृया शुरू भयो’ –एसओएस बालग्राम निर्देशक  अम्गार्इंले भन्नुभयो– ‘११ दिनको दिन फागुन १४ गते दिउँसो बच्चा डिस्चार्ज भएलगत्तै हिन्दूपरम्पराअनुसार शिशुको न्वारान गरी बालग्रामको त्रिशुली नामक घरमा राखिएको छ।’ उक्त घरको जिम्मेवारी केही महिनादेखि निर्मला आचार्यले प्राप्त गर्नुभएको छ।
८ जना बच्चा रहेको उक्त घरकी आमा निर्मलाले शिशु तेजस्वीको स्याहार गर्नुहुनेछ। तेजस्वीजस्तै उक्त बालग्राममा अभिभावक नै पत्ता नलागेका तीन सन्तान छन्। एक जना अध्ययन गरेर क्यानाडामा पुग्नुभएको छ भने अर्काे एकजना सोही विद्यालयको कक्षा ११ मा अध्ययन गरिरहनुभएको छ। अभिभावक गुमाएका १ सय ३० जना बालबालिकाहरुलाई एसओएस बालग्राम काभ्रेले १४ वटा आमा घरमार्फत् अभिभावकत्व प्रदान गरी शिक्षादीक्षा प्रदान गरिरहेको छ।
एसओएस बालग्राममा अभिभावकत्व ग्रहण गरेका बालबालिकालाई १७ वर्षभित्र एसईई दिन लगाउने, २३ वर्षसम्म थप शिक्षाका लागि युथ केयरमा लैजाने र त्यसलगत्तै समाजमा स्थापित गर्ने गरी विभिन्न क्षेत्रमा समावेश गरिँदै आएको छ। बालग्राममार्फत् डाइरेक्ट केयरमा गएका ४४ जना बालबालिका युथ केयरमा छन्। तेजस्वीको उपचारमा ४० हजार खर्च भएको अस्पतालले जानकारी दिएको छ।
नयाँ संहिता कानुनअनुसार शिशुलाई एसओएस बालग्राममा हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो। एसओएस बालग्रामले आफ्नो जिम्मेवारीमा रहेका बालबालिकालाई अन्य अभिभावकको जिम्मा लगाउँदैन। तेजस्वीको अभिभावक बन्न खोज्ने थुप्रै व्यक्ति र संघसंस्थालाई प्रशासनले शिशु उपलब्ध नगराएको प्रजिअ तिमल्सिनाले बताउनुभयो। पछिल्लो समय बच्चाको अभिभावकत्व ग्रहण गरी विभिन्न प्रयोजनमा लैजाने क्रम बढेकाले प्रशासनले शिशुलाई एसओएसमा पठाएको हो।

प्रतिक्रिया दिनुहोस्