शिवालयले गर्यो जैविक विषादी निर्माण



बासुदेव शर्मा, जाजरकोट ।
जाजरकोट शिवालय गाउँपालिकाअन्तर्गत कृषि विकास शाखाले कृषि व्यवसायलाई रासायनिक विषादीमुक्त गर्न अध्यक्ष कृषि प्रविधिमैत्री जैविक विषादी निर्माण तालिम सञ्चालन गरेको छ।एक घर एक करेसाबारी निर्माणको अवधारणा लिएर कृषि व्यवसायलाई अर्गानिक मोडेल कृषि उत्पादनबाट किसानको आयआर्जनमा सुधार ल्याउन कृषि विकास शाखाले ९ वटै वडाका ७५ जना किसानलाई अध्यक्ष कृषि प्रविधिमैत्री जैविक विषादी निर्माणको घुम्ती तालिम सञ्चालन गरेको हो।
कृषि पेसालाई व्यवस्थित गरी आधुनिक प्रविधिमैत्री बनाउन रासायनिक विषादीमुक्त वस्तु उत्पादन गर्न एक घर एक करेसाबारीको लक्ष्य लिएर कार्यक्रम गरेको छ।कृषि विकास शाखाले ७५ जना किसानलाई अध्यक्ष कृषि प्रविधिमैत्री जैविक विषादी निर्माणको तालिमलगायत वितरण गरेको छ।
कृषि व्यवसायलाई आधुनिक प्रविधिमैत्री गरी रसायनिक विषादी मुक्त गर्ने उद्देश्यले मोडेलका रूपमा सञ्चालन गरेको हो। किसानलाई जैविक विषादीको निर्माण र प्रयोगको विधिका बारेमा जानकारी गराएको थियो। तालिममा उपस्थित किसानलाई जैविक विषादी निर्माण गर्न लगाएको कृषि विकास शाखाका प्रमुख विश्वामित्र शर्माले बताउनुभयो।
परीक्षणका रूपमा लिएको जैविक विषादि निर्माण तालिममा किसानहरुले विषादी निर्माण गरी अन्य कृषक समूहलगायत किसानहरुलाई खेतबारीमा प्रयोग गर्नका लागि एक बोतलको १५ रुपियाँमा दिने भएका छन्। किसानले जैविक विषादीको प्रयोग प्रभावकारी रूपले गरे आगामी वर्ष सबै किसानलाई जैविक विषादी निर्माणको तालिम दिने विषादी मुक्त अर्गानिक वस्तु उत्पादन गर्ने लक्ष्य लिएको शाखा प्रमुख शर्माले बताउनुभयो।
कृषि व्यवसायलाई आधुनिकीकरण गरी शिवालय गाउँपालिकामा उत्पादन हुने वस्तुहरुको उत्पादकत्वमा वृद्धि गरी किसानलाई आत्मनिर्भर बनाउन करेसाबारी कार्यक्रम, टिमुर खेती कार्यक्रमको सञ्चालन गरेको छ। शिवालय गाउँपालिकाभित्रका वडाहरुमा उत्पादन हुने वस्तुको पहिचान गरी २ मा टिमुर खेती उत्पादनको तालिम सञ्चालन गरिएको छ। करेसाबारी निर्माणका लागि शिवालय ५ को मान्डेरा टोलमा करेसाबारी तालिम सञ्चालन गरी आधुनिक प्रविधि अर्गानिक वस्तु उत्पादनका लागि जैविक विषादी निर्माणको आयोजना गरेको कृषि विकास शाखा प्रमुख शर्माले बताउनुभयो।
शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले कृषि पेसाबाट आत्मनिर्भर भएका किसानहरुले विषादीरहित अर्गानिक वस्तु उत्पादन गरी समृद्ध गाउँपालिका निर्माणका लागि कार्यक्रम गरेको बताउनुभयो।
किसान स्वस्थ्य भए नागरिक स्वस्थ हुने भएकाले किसानले उत्पादन गर्ने वस्तुलाई स्वस्थ राख्न रासायनिक विषादीमुक्त गरी जैविक विषादी प्रयोग गर्नको लागि परीक्षणका रूपमा सञ्चालन गरेको अध्यक्ष शाहीले बताउनुभयो।९५ प्रतिशत नागरिकहरु कृषि पेसाबाट आत्मनिर्भर भएकाले व्यवसायीकरण गरी उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्न कृषिमा आधुनिक प्रविधिको विकास गर्ने अध्यक्ष शाहीले बताउनुभयो।
शिवालयका नौवटै वडामा उत्पादन हुने वस्तुको सम्भाव्यता अध्ययन गरी कृषि पेसालाई प्रभावकारी बनाउन वैज्ञानिक खेती प्रणालीको विकास गरी अर्गानिक वस्तु उत्पादन आधुनिक खेती प्रविधिको विकास गरी समृद्ध गाउँपालिका निर्माण गर्ने लक्ष्य लिएको अध्यक्ष शाहीले बताउनुभयो।
जैविक विषादी निर्माण गरी प्रभावकारी रूपमा प्रयोग गरे आगामी वर्ष सबै किसानलाई तालिम दिएर अर्गानिक गाउँपालिका निर्माण गर्ने अध्यक्ष शाहीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्