शेयर बजारमा उत्साह, नेप्से ४३ अंकले बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं ।
धितोपत्र बजारमा मंगलबार शेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३ दशमलव शून्य २ अंकले वृद्धि भएको छ। परिसूचकमा भएको उच्च वृद्धिका कारण शेयर बजार लगानीकर्ता उत्साहित बनेका छन्।
यस दिन परिसूचक ४३ दशमलव शून्य २ अंकले बढेर १५४५ दशमलव १९ बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक पनि ८ दशमलव ७५ अंकले बढेर ३२६ दशमलव ५६ बिन्दुमा पुगेको छ। मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ। कुल १ सय ८० कम्पनीको ७० लाख ५९ हजार ७ सय १२ कित्ता शेयर २ अर्ब ९९ करोड २१ लाख ६० हजार ५ सय २४ रुपियाँ बराबरको खरिदबिक्री भएको छ।
कारोबार भएका १२ उपसमूहमध्ये मंगलबार सबै उपसमूहको परिसूचक वृद्धि भएको छ। यस दिन बैंकिङ उपसमूहमा १२ दशमलव ८९, व्यापार ४७ दशमलव शून्य ९, होटल ११ दशमलव २२, विकास बैंक ४४ दशमलव ४९, जलविद्युत् ४६ दशमलव ५१, वित्त १९ दशमलव ४२, निर्जीवन बीमा ३ सय ७ दशमलव शून्य ९, उत्पादन ११८ दशमलव ४२, अन्य ५१ दशमलव शून्य ३, लघुवित्त ८३ दशमलव ४४, जीवन बीमा ६ सय ७३ दशमलव ४९ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ९ अंकले वृद्धि भएको छ।
मंगलबार कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी सबैभन्दा अग्रस्थानमा रहेको छ। यस कम्पनीको १६ करोड ३३ लाख ५१ हजार १ सय ६८ रुपियाँ बराबरको कारोबार भएको छ। यस्तै सबैभन्दा धेरै नाफा कमाउने कम्पनीहरूमा गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्था रहेका छन्। यी कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाएका छन्। यस्तै सबैभन्दा धेरै गुमाउने दिव्येश्वरी हाइड्रोपावर कम्पनी रहेको छ। यसको लगानीकर्ताले ३ दशमलव ६३ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्