दुई थान भरुवा बन्दुकसहित गाँजा बरामद



नेपाल समाचारपत्र, बारा।
प्रहरीले बाराको निजगढ नगरपालिकाबाट गाँजा तस्करहरूले प्रयोग गर्ने दुई थान १ नाले भरुवा बन्दुकसहित आइतबार बेवारिसे अवस्थामा रहेको ६ केजी गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले निजगढ नगरपालिका–१२ को लालेटोलबाट उत्तरतर्फ चुरे डाँडाको वन क्षेत्रबाट भरुवा बन्दुक र गाँजा बरामद गरेको हो।
वन क्षेत्रमा लुकेर तस्करहरूले गाँजा प्याकिङ गर्ने र र तराईका विभिन्न जिल्लामा पु¥याउने गरेको भन्ने सूचना पाएपछि  खोज तलासका लागि इलाका प्रहरी कार्यालयको टोली सो क्षेत्रमा पुगेको थियो।
‘खाना पकाउन प्रयोग गरिएका भाँडाकुडा र केही लत्ताकपडासमेत फेला पारेको छ’, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले भन्नुभयो– ‘तस्कर अखडा जमाएर बस्ने गरेका रहेछन्।’ हतियार र गाँजा बरामद स्थलको अवस्थाले उक्त क्षेत्रमा तस्करको गतिविधि बाक्लो रहने गरेको अनुमान गर्न सकिने प्रहरीको भनाइ छ। ‘चुल्हो बनाएर खाना पकाउने, खाने र आरामका लागि त्यहीं सुत्ने पनि गरेका रहेछन्।’
निरीक्षक थपलियाले भन्नुभयो। उहाँले बरामद भएकोमध्ये करिब ३ केजी गाँजा मेसिनमा च्यापेर प्याकिङसमेत गरेको अवस्थामा फेला पारेको जानकारी दिनुभयो। प्रहरी पुगेको थाहा पाएपछि तस्करहरू भागेको हुन सक्ने प्रहरीले जनाएको छ।
बारा र मकवानपुरको सिमानामा पर्ने सो क्षेत्रलाई लामो समयदेखि गाँजा तस्करीको ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएका थिए। प्रहरीको सहज पहुँच नभएका कारण पनि यस क्षेत्रमा तस्करहरू सक्रिय हुँदै आएका हुन सक्छन्। मकवानपुरको विभिन्न क्षेत्रबाट ल्याइएको गाँजा सोही क्षेत्रमा राखेर प्रशोधनपछि सवारीसाधनमा राखेर रातरात तराईका जिल्ला र सीमापारि पु¥याउनेसमेत गरिएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्