आयोडिनयुक्त नुनको प्रयोगले ढिके नुन विस्थापित



 विमल विष्ट, डोटी 
पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाइन थालेपछि प्रयोगकर्ता पनि बढ्न थालेका छन्।
वर्षौंदेखि ढिके नुनको प्रयोग गर्दै आएका डोटीवासीले पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका छन्।
सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ का स्थानीय लालबहादुर कामीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘पहिला आयोडिन नुन पाइँदैन थियो, अहिले सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि हामीले ढिकेनुन खान छोड्दै छौं।’
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दिपायल शाखाले यहाँका स्थानीय तहसँग मिलेर गाउँ–गाउँमा पनि आयोडिनयुक्त नुन गोदामको व्यवस्था गरी बिक्री–वितरण गर्न थालेपछि उपभोक्तालाई आयोडिनयुक्त नुन किन्न सहज भएको हो। जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो १६ रुपियाँमै आयोडिनयुक्त नुन वितरण हुन थालेपछि जिल्लाका ९ वटा स्थानीय तहका नागरिकलाई मागअनुसारको नुन प्राप्त गर्न सजिलो भएको छ।
विगतमा आयोडिनयुक्त नुन लिनका लागि टाढा जानुपर्ने भएकाले पनि ढिकेनुन नै बढी प्रयोग गर्र्ने गरेको केआईसिंह गाउँपालिका–५ का स्थानीय चेतराज भट्टले बताउनुभयो।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यहाँका गाउँघरमै शाखा कार्यालय स्थापना गरेपछि  आयोडिन नुन किन्नका लागि जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरलगायतका बजारमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको केआईसिंह गाउँपालिका–७ सलेनाका स्थानीय तथा शिक्षक जगतबहादुर बलायरले बताउनुभयो।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दिपायलका अनुसार गाउँबस्तीमै सरकारी अनुदानको आयोडिन नुन वितरण हुन थालेपछि ढिके नुनको प्रयोग घट्दै गएको छ। ‘गाउँमा ढिके नुन विस्थापित गर्दै आयोडिनयुक्त नुनको प्रयोग बढेको छ, जसले गर्दा गलगाँड आउने, लाटो लठेब्रो हुनेजस्ता शारीरिक समस्यामा कमी आएको छ।’ –जोरायल गाउँपालिका स्वास्थ्य इकाइ कार्यालयका प्रमुख गोविन्दबहादुर विष्टले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्