सुदूरपश्चिम प्रादेशिक महोत्सवको आकर्षण प्याराग्लाइडिङ



विमल विष्ट, डोटी। 

डोटी चेम्बर अफ कमर्सले जिल्लाको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवमा प्याराग्लाइडिङ सबैको मुख्य आकर्षण बनेको छ।

‘सेतीको हीरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउँछौं समुन्नत डोटी’ भन्ने मूल नाराका साथ नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्नका लागि आयोजना गरिएको उक्त महोत्सवको अवलोकन गर्न आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकको पहिलो आकर्षणका रूपमा उक्त प्याराग्लाइडिङ उडान रहँदै आएको छ।

दिपायलको खुल्लेक डाँडाबाट प्याराग्लाइडिङको उडान गरिन लागिएकाले हिजोआज दैनिक १० देखि १२ जनाले प्याराग्लाइडिङ उडान गर्न सहभागी हुने गरेको चेम्बर अफ कमर्सका सचिव तेजबहादुर डुम्रेलले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘प्याराग्लाइडिङबाट सेती नदीको मनोरम दृश्यावलोकन गर्नुका साथै पूरै दिपायल र राजपुरका मनोरम स्थलहरू आकाशबाट खुला रूपमा देख्न सकिने भएकाले यो सबैको मुख्य आकर्षणको केन्द्र बनेको हो।’

प्याराग्लाइडिङ उडानका लागि डोटी चेम्बर अफ कमर्सले महोत्सव अवधिका लागि पोखराबाट दुइवटा प्याराग्लाइडिङ र प्यारा पाइलटहरू झिकाएको चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउदले बताउनुभयो।

‘महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई भरपुर आनन्द दिन हामीले पोखराबाट पाइलट र प्याराग्लाइडिङ ल्याएका छौँ’, उहाँले भन्नुभयो– ‘प्याराग्लाइडिङले सबैलाई आनन्द दिएको छ।’

दिपायलमा पोखराबाट मगाइएका बाबा योगी एड्भेन्चर क्लबले दैनिक रूपमा प्याराग्लाइडिङ उडान भर्दै आएको छ। प्यारा पाइलट रोसन बीसी, नवीन बीसी र रमेशनाथ योगीले प्याराग्लाइडिङ उडान भर्दै आएका छन्।

यति मात्र नभई दिपायलमा हिजोआज दैनिक रूपमा प्याराग्लाइडिङ उडान शुरू भएपछि उडान हेर्न आउने दर्शकहरूको पनि निकै घुँइचो लाग्ने गरेको स्थानीय तेजु ओलीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘डोटीका लागि प्याराग्लाइडिङ नयाँ कुरो भएकाले पनि अधिकांशको रोजाइ र हेराइ नै प्याराग्लाइडिङ बन्न थालेको छ।’ डोटीको आकाश प्याराग्लाइडिङका लागि उपुक्त भएको र यहाँ प्याराग्लाइडिङ गर्दा कुनै समस्या नहुने प्यारा पाइलट रमेशनाथ योगीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘दिपायल प्याराग्लाइडिङ उडानका लागि उपयुक्त ठाउँ छ, भौगोलिक बनावटदेखि प्याराग्लाइडिङका लागि चाहिने हावापानी पनि मिलेकोले उडान भर्न निकै राम्रो छ।’ डोटीको आकाशमा प्याराग्लाइडिङ उडान सधैँका लागि नितरन्तरता दिन स्थानीयतहले अग्रसर हुनुपर्ने दिपायलका स्थानीय तथा व्यापारी रामबहादुर विष्टले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘चेम्बर अफ कमर्सले प्याराग्लाइडिङको शुरुआत गरे पनि यस्को निरन्ताका लागि स्थानीय तहले अग्रसरता देखाउनुपर्छ।’ डोटीमा रहेका विभिन्न पर्यटकीय स्थल, मठमन्दिर, सेती नदीको मनोरम दृश्यावलोकन गर्न तथा हिँडेर धेरै समय लाग्ने ठाउँहरूको अनलोकन गर्न तथा प्याराग्लाइडिङ निकै सजिलो तथा छिटो माध्यम भएकाले पनि प्याराग्लाइडिङ उडानलाई निरन्तरता दिनुपर्ने स्थानीयवासी तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘डोटीमा रहेका विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्नका लागि प्याराग्लाइडिङ सजिलो माध्यम बन्नेछ, यसको निरन्तरता दिन सक्नुपर्छ र दिनुपर्छ।’

उता दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले डोटीमा व्यावसायिक प्याराग्लाइडिङ उडान शुरू गर्नका लागि नगरपालिकाको तर्फबाट विशेष पहल गरिने बताउनुभयो। उहाँले भन्नुभयो– ‘व्यावसायिक रूपमा प्याराग्लाइडिङ गर्न हामी र हाम्रो तर्फबाट छिट्टै पहल गर्छौँ।’

जिल्लाका अन्य स्थानीय तहमा पनि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा प्याराग्लाइडिङ गर्नका लागि परीक्षण उडानका लागि पहल गरिनेसमेत नगर प्रमुख मलासीले जानकारी दिनुभयो।

साहसिक खेलको रूपमा रहेको प्याराग्लाइडिङ माध्यमबाट यहाँका पर्यटकीय क्षेत्र चिनाउनका लागि भएपनि डोटीमा प्यारागलाइडिङ उडानलाई निरन्तरता दिनुपर्ने स्थानीयवासीको माग रहेको छ।

प्याराग्लाइडिङ उडानले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्याउन निकै सहज र सजिलो हुनुको साथै यहाँका पर्यटकीय, धार्मिक स्थलको पनि देश विदेशमा सहजै रूपमा प्रचारप्रसार गर्न सकिने कांग्रेस नेता तथा पूर्वदिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख घनश्याम पाठकले बताउनुभयो। उक्त सुदूरपश्चिम प्रादेशिक महोत्सव यही फागुन–१ बाट शुरू भएर १३ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्