बैंक प्रबन्धकलाई काट्छु भन्ने पक्राउ



हेटौंडा, (नेस)।

शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–४ स्थित नेपाल बैंकको शाखामा हेटांैडा–४ स्थित चिल्ड्रेनपार्क बस्ने वर्ष ४४ का गजेन्द्रराज गिरी दाबसहितको खुकुरी लिएर बैंक शाखा प्रबन्धकलाई काट्छु भन्दै भित्र पसे।

बैंकभित्र प्रवेश गरेपछि शाखा प्रबन्धकले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरे। जिप्रकाबाट सादा पोशाकका प्रसनि नवीनविक्रम थापासहित ५ जनाको टोली तत्काल बैंकमा खटियो। टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै खुकुरी प्रहार गर्न खोजे।

प्रहरीले पेस्तोल ताकेर ‘गोली हान्छु’ भनेपछि मात्र उनले प्रहरीलाई खुकुरी दिए। उनलाई नियन्त्रणमा लिइएको उक्त घटना बुझ्ने क्रममा बिहीबार दिउँसो खाता सञ्चालन गरी बैंकमा सुनका गरगहना धितो राखी पैसा निकाल्न शाखा प्रबन्धकसँग छलफल गर्दा सुनका गरगहनामा शंका लागेर धितो राख्न मानेनन्।

त्यहाँबाट ‘तलार्इं म देखाउँछु’ भन्दै धम्की दिएर गिरी निस्के। उनले शक्रबार उक्त गतिविधि देखाएको तथा उनले प्रयोग गरेको बा. ५ च २६२५ नम्बर कारसमेत नियन्त्रणमा लिएर चेक गर्ने क्रममा विभिन्न सामान फेला परे। उनलाई खुकुरी र सवारीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनको साथबाट सिरुपाते खुकुरी १ थान, नाइनस्टिक १ थान, बेल्टको बक्कल फिट भएको चक्कु १ थान, स्टिलको चाबी रिङ १ थान र स्काइ कलरको १४ पिस (पेनेग्रा/भियग्रा) पनि बरामद भएको प्रहरीले जनाएको छ। उनले कात्तिकमा पनि यस्तै प्रकृतिले सिम टिभीको कार्यालय तोडफोड गरेको र उनलाई कारबाही गरी छाडिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्