नियोजित रूपमा आक्रमण भयो : यती समूह



नेपाल समाचारपत्र, काठमाडौं।

सरकारले गोकर्ण रिसोर्टको जग्गा भाडामा दिइएको विषयलाई लिएर भएको आलोचनाको यती समूहले खण्डन गरेको छ। एक विज्ञप्ति जारी गर्दै नियोजित र प्रायोजित रूपमा यतीमाथि आक्रमण गरिएको बताएको छ।नियोजित रूपमा स्वार्थी समूहले केही सञ्चार माध्यमलाई समेत उक्साहट गरी यती समूहलाई बदनाम गराउन र कमजोर बनाउन लागिपरेको उसले जनाएको छ।

‘सच्चा देशभक्त, राष्ट्रवादी आदिवासी र जनजाति शेर्पा समुदायबाट प्रतिनिधित्व गर्ने यती समूहले गरेको सफलता र राष्ट्र सेवाप्रति इस्र्या प्रदर्शन भएको घटनाका रूपमा मात्र लिएका छौं’, उसले भनेको छ–‘हामी कानुनको जगमा उभिएर निरन्तर आफ्नो सेवामूलक पेसाप्रति अझ धेरै जिम्मेवार रहिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं।’

नेपालको समग्र पर्यटन विकास र राष्ट्रको पर्यटनका सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन झण्डै ४ दशकदेखि अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको यतीले जनाएको छ। वार्षिक १ अर्बभन्दा बढी कर राज्यलाई तिर्दै आएको उल्लेख गर्दै यतीले भनेको छ–‘व्यवसायीलाई पनि कर तिर्नका लागि प्रोत्साहन गर्ने यो समूह हो, हाम्रो प्रयासबाट राष्ट्रिय अर्थतन्त्रको विकासमा पुगेको योगदानप्रति गर्व महशुस गर्दछौं।’

हाल ३ हजार ५ सयभन्दा बढी नेपालीलाई रोजगारी दिइएको यतीले जनाएको छ। उसले भनेको छ–‘जबरजस्ती निरन्तर विवादमा ल्याइएका यी सबै विषयमा कानुनी रुपमा स्पष्ट छौं र यस्ता भ्रम सिर्जना गर्ने समूहप्रति डटेर मुकाबिला गर्नेछौं।’

ताप्लेजुङ जिल्लास्थित पवित्र तीर्थस्थल पाथीभरा देवी दर्शन केबलकार आयोजनाबारे प्रकाशित समाचार असत्य, भ्रामक र बद्नाम गराउने उद्देश्यबाट मात्र प्रेरित भएको उसले जनाएको छ। उक्त आयोजनामा यती समूहको ५१ प्रतिशत र ताप्लेजुङका स्थानीय समुदायको ४९ प्रतिशत शेयर लगानी रहेको भन्दै उसले ३० वर्षका लागि मात्रै सरकारी जग्गा लिजमा लिइएको बताएको छ।

‘केही सञ्चार माध्यमले ८० वर्षका लागि ३१७ रोपनी जग्गा दिइएको भनेका छन्। तर, वास्तविकता ९८ रोपनी जग्गामात्रै ३० वर्षका लागि हो’– उसले भनेको छ।नेपाल ट्रष्टअन्र्तगत रहेका दरबारमार्ग र ताहचलको जग्गा लिजमा लिँदा भगिनी कम्पनीहरूले टेण्डर प्रक्रियाबाट सबैभन्दा बढी रकम बोलकवोल गरी लिएको यतीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्