शेयर बजार घटेर बन्द



नेपाल समाचारपत्र, काठमाडौं

साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ३९ अंकले घट्दै १३४४ दशमलव ९९ बिन्दुमा ओर्लिएको छ। साताको अन्तिम दिन बिहीबार सेन्सेटिभ सूचक १ दशमलव ३२ अंकले घट्दै २८४ दशमलव २४ विन्दुमा झरेको छ। यस दिन कुल १ सय ७२ कम्पनी कारोबारमा आएका छन्।

कारोबारमा आएका यी कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर १ अर्ब ७७ करोड ३८ लाख ५ हजार ७ सय ४६ रुपियाँमा किनबेच भएका छन्। यस दिन पाँच वटा उपसमूहको कारोबार घटेको छ भने सात वटा उपसमूहको कारोबार बढेको छ। कारोबार बढ्ने उमसमूहमा व्यापार, वित्त, माइक्रोफाइनान्स, निर्जीवन बीमा, निर्माण तथा उत्पादन, जीवन बीमा तथा अन्य रहेका छन्। यी बाहेक बैंकिङ, हाइड्रोपावर, होटल, विकास बैंक तथा मुचुअल फन्ड समूहको परिसूचक घटेको छ।

कारोबारका आधारमा बिहीबार हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको १२ करोड ४६ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ। यस्तै शिवम् सिमेन्ट्सले ९ करोड ७५ लाख रुपियाँभन्दा बढीको कारोबार गर्दै शीर्ष दुईमा स्थान बनाएको छ भने तेस्रोमा ६ करोड ५१ लाख रुपियाँभन्दा बढीको कारोबार गर्ने एसियन लाइफ इन्स्योरेन्स कम्पनी परेको छ।

यसदिन सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा हिमालयन डिस्टीलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ। यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतले नाफा कमाएका छन्। यसदिन सबैभन्दा बढी घाटा व्यहोर्ने कम्पनीमा नेपाल हाइड्रो डेभलपर्स लिमिटेड रहेको छ। यस कम्पनीका लगानीकर्ताले ५ दशमलव १० प्रतिशतको घाटा व्यहोरेका छन्।

प्रतिक्रिया दिनुहोस्