सिभिल बैंकको निक्षेप २१ प्रतिशतले बढ्यो



काठमाडौं, (नेस)।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १४ प्रतिशतले बढेको छ। बैंकले समीक्षा अवधिसम्ममा ५२ अर्ब निक्षेप संकलन गरी ५० अर्ब कर्जा प्रवाह गरेको छ।गत वर्ष यही अवधिसम्म बैंकले ४३ अर्ब निक्षेप संकलन गरी ४४ अर्ब कर्जा प्रवाह गरेको थियो। दोस्रो त्रैमाससम्म बैंकको ग्राहक संख्या ४ लाख १२ हजार ८१९ पुगेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४ प्रतिशतले वृद्धि हो। गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या २ लाख ६७ हजार ३५९ थियो।

यसैगरी बैंकको कुल सञ्चालन आम्दानी र खुद सञ्चालन आम्दानी पनि क्रमशः ९ र २१ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको यही अवधिसम्म १ अर्ब ३३ करोड रुपियाँ रहेको कुल सञ्चालन आम्दानी बढेर १ अर्ब ४६ करोड रुपियाँ पुगेको छ भने १ अर्ब ५ करोड रहेको खुद सञ्चालन आम्दानी बढेर १ अर्ब २७ करोड रुपियाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ प्रतिशतले बढेको छ। यो अवधिसम्ममा बैंकले १ अर्ब १९ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्षको यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब १० करोड रुपियाँ रहेको थियो।

सिभिल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ। बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात शून्य दशमलव ८५ प्रतिशतले घटाउन सफल भएको छ। गत वर्षको यही अवधिसम्म ३ दशमलव ५४ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर २ दशमलव ६९ प्रतिशतमा झरेको हो।

समीक्षा अवधिमा बैंकको आधार दर पनि शून्य दशमलव ३६ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिसम्म ११ दशमलव ३१ प्रतिशत रहेको आधार दर घटाएर समीक्षा अवधिमा १० दशमलव ९ प्रतिशत पुर्याएको छ।बैंकले समीक्षा अवधिमा ३१ करोड ६२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

गत वर्ष बैंकको जम्मा शाखा संख्या ७३ मात्र रहेकोमा बैंकको दीर्घकालीन रणनीतिक योजनाअनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ३१ थप शाखा विस्तार भइ जम्मा शाखा संख्या १०२ पुगेको छ। निकट भविष्यमा अझै थप १७ वटा शाखा खुल्दैछन्। द्रुत गतिमा शाखा विस्तार भएकाले गर्दा सोही बमोजिम कर्मचारी खर्च लगायत समग्र संचालन खर्च बढ्न गएकोले तत्कालीन रुपमा नाफामा केही असर पर्न गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्