महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा एक वर्ष पूरा



महालक्ष्मी लाइफ इन्स्योरेन्सले सञ्चालनको एक वर्ष पूरा गरेको छ। नेपालको बीमा बजारमा ४०औं र जीवन बीमा कम्पनीमा १९औं कम्पनीको रुपमा कारोबार सञ्चालन गरेको महालक्ष्मी लाइफ सबैभन्दा कान्छो बीमा कम्पनी हो। कम्पनीले ३८ जिल्लामा ६० वटा शाखा र उपशाखा सञ्चालन गरिसकेको छ।

त्यस्तै ६० जिल्लामा अभिकर्ता तालिम सञ्चालन गरी बीमा समितिबाट इजाजत लिएर ७ हजार ३२३ अभिकर्ताहरू यस कम्पनीमा कार्यरत रहेका छन्।

कम्पनीले १ वर्षको छोटो अवधिमा महालक्ष्मी डबल सावधिक बीमा, महालक्ष्मी सावधिक आजीवन बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, महालक्ष्मी जीवन हेरचाह बीमा, महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल बीमा, महालक्ष्मी जीवन सुरक्षा म्यादी बिमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बिमा र महालक्ष्मी सामूहिक म्यादी जीवन बीमा गरी ९ वटा बीमा पोलिसी प्रचलनमा ल्याइसकेको छ

। कारोबार प्रारम्भको १ वर्षको छोटो अवधिमा कुल ५६ करोड बीमा शुल्क संकलन गर्न कम्पनी सफल भएको छ। असार मसान्तसम्म ११ करोड १३ लाख र पुस मसान्तमा ५ करोड १८ लाख खुद मुनाफा गरेको छ।

एक वर्षको कारोबारमा कुल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र वैदेशिक रोजगार पुल दाबीबाहेक कम्पनीको दाबी भुक्तानी शून्य प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्