एकल पुरुषले भत्ता पाउने



मानबहादुर बोहरा, बझाङ ।

बझाङ जिल्लाको थलारा गाउँपालिकाले गाउँपालिका भरी रहेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम अनुसार उमेरले ५० वर्ष नाघेका गाउँपालिका भरीका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिइने भएको हो ।

“हामीले कार्यविधि बनाएर काम गर्दैछौँ, अहिले तथ्याङ्क संकलनको काम भइरहेको छ । थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले भने, – फागुन एक गतेदेखि लागु हुन्छ । हामीले बजेट छुट्याई सकेका छौँ ।”

श्रीमती गुमाएका तथा अविवाहित ५० वर्ष नाघेका पुरुषले आउँदो फागुन महिना देखि सामाजीक सुरक्षा भत्ता पाउँने भएका छन् । मासिक ५०० रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता पाउँने गरी अहिले गाउँपालिकाका सबै ९ ओटै वडामा तथ्याङ्क संकलनको काम भइरहेको छ ।

यसैबीच, थलारा गाउँपालिकाले पालिका भरीका घरका खरका छाना विस्तापीत गर्न आर्थिक सहयोग गरीरहेको छ । आर्थिक अभावले घरका छाना खरले छाउनु पर्ने पालिका वासीको समस्यालाई हेरेर गाउँपालिकाले जस्तापाता खरीदको लागि आर्थिक सहयोग गरीरहेको गाउँपालिकाका अध्यक्ष उपाध्यायले बताए ।

उनले अहिले सम्म झण्डै १० लाख रुपैयाँका जस्तापाता खरीदको लागि आर्थिक सहयोग गरीएको बताए । गाउँपालिकाले ५ सुकुम्बासी परिवारको लागि पनि घर निर्माण गरि दिएको छ । प्रति घरमा २ लाख रुपैयाँ लगानी लगाएर ५ घर निर्माण गरीएको उनले बताए । आगामी वर्ष थप ५ घर निर्माण गरीने गाउँपालिकाका अध्यक्ष उपाध्यले बताए ।

प्रतिक्रिया दिनुहोस्